कञ्चनपुर पनि औलोको जोखिममा


कञ्चनपुर – भारतसँग जोडिएको खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा रहेको छ । भारतमा औलोको संक्रमण भएर आउने बिरामीको संख्या हरेक वर्ष वृद्धि भइरहेकाले अझै पनि औलोको जोखिम कायमै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले कञ्चनपुरमा स्थानीय संक्रमणभन्दा आयातीत औलो संक्रमित बिरामी बढिरहेको बताए । ‘यो जिल्लामा यहाँको लामखुट्टेको टोकाइभन्दा पनि भारतमा संक्रमित भएर आउनेको संख्या बढी छ’, उनले भने, ‘पछिल्लो केही वर्षयता कञ्चनपुरमा औलोको संक्रमण कम भए पनि जोखिम कायमै छ ।’ उनले सन् २०२५ सम्ममा औलो शून्यमा झार्ने रणनीतिअनुसार स्वास्थ्य कार्यालयले काम गरिरहेको बताए ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा १६ जना औलो संक्रमित थिए भने ३१ जना भारतबाट संक्रमण भएर आएका थिए । आव २०७८/७९ मा संक्रमित घटेर छ मा पुगे पनि आयातीत संक्रमितको संख्या ३० थियो । चालु आवको हालसम्ममा संक्रमित पाँच जना छन् भने भारतबाट संक्रमित भएर आएका १७ औलो संक्रमित छन् ।

भारतसँगको खुला सीमानाका कारण आयातीत औलो संक्रमण बढिरहेको छ । स्वास्थ्य कार्यालयले औलो रोग निवारणका लागि औलोको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने र झूल वितरण गर्ने अभियान सञ्चालन गरेको जिल्ला औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । जिल्लामा औलोको उच्च जोखिम रहेको क्षेत्र भीमदत्त नगरपालिका–१ र कृष्णपुर नगरपालिका–५ लगायतका क्षेत्रमा विषादी छर्किएको उनले बताए ।

‘मध्यम जोखिम भएका क्षेत्रमा झूल वितरण गरेका छौँ’, भट्टले भने, ‘सरकारको योजनाअनुसार २०२५ सम्ममा जिल्लालाई मलेरिया शून्यमा झार्ने लक्ष्यअनुसार काम भइरहेको छ ।’ उनले जिल्लामा भारत तथा अन्य ठाउँबाट आउनेमा बढीजसो औलोको संक्रकमण देखिने गरेको बताए ।

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले औलोबाट बच्नका लागि झूलको प्रयोग गर्ने र शरीर ढाक्ने कपडा लगाउनुपर्नेमा जोड दिए । ‘औलोबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ र घर वरपरका खाल्डाखुल्डी पुर्ने औलो उन्मूलनका उपाय हुन्’, उनले भने, ‘महाकाली अस्पतालमा आउने औलो सङ्क्रमितलाई निःशुल्क उपचार गराइराखेका छौँ ।’ कञ्चनपुरमा हाल प्लाज्मोडियम विवक्स र प्लाज्मोडियम फाल्सिपेरम जातका बिरामी देखापरेका हुन् ।

प्रतिक्रिया