हुम्डेमा आइस क्लाइम्बिङ महोत्सव, साहासिक खेल प्रवद्र्धनमा टेवा


लमजुङ – पर्यटकीय जिल्ला मनाङमा अफ सिजनमा पर्यटक भित्र्याउन विभिन्न गतिविधि सुरु भएको छ । पर्यटकीय सिजनमा वार्षिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमन हुने मनाङमा अफ सिजनमा पनि पर्यटकहरुलाई आकर्षण गर्न आईस क्लाइम्विङ महोत्सव आयोजना भएको हो ।

पर्यटन ब्यवस्थापन उपसमिति मनाङले अफ सिजनमा पनि पर्यटक आकर्षण गर्ने उद्देश्यले तेश्रो आईस क्लाइम्विङ महोत्सव आयोजना गरेको हो । मनाङको ङिस्याङ गाउँपालिका अन्तर्गत हुम्डेमा आइस क्लाइम्विङका साथै आइस स्की र बोर्ड आइस स्की पनि सञ्चालन गरिएको पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।

विगत तीन वर्षदेखि मनाङको हुम्डेमा प्रत्येक फेब्रुअरी महिनामा आइस क्लाइम्बिङ महोत्सव हुँदै आएको छ । महोत्सवका लागि नेपाल पर्वतारोहण संघ (एनएमए) ले संयोजन गर्दै आएको छ । महोत्सवमा नेपाल क्लाइम्बिङ टिम, मनाङ समाज सेवा समिति, नेस्याङ युवा कल्वको सहयोग रहेको छ भने नेपाल सरकारका विभिन्न निकायसँग समन्वय हुँदै आएको छ ।

महोत्सवमा पहिलो वर्ष २० जना क्लाइम्बरहरुको सहभागिता रहेकोमा यस वर्ष जिल्ला बाहिरकासहित करिव २० जना स्थानीयले पनि साहासिक खेलमा सहभागिता जनाएका थिए । यसअघिका वर्षहरुमा भएका आइस क्लाइम्बिङ महोत्सवमा विदेशी खेलाडीहरुको सहभागिता हुने गरेपनि यस वर्ष कोभिड–१९ को प्रभावका कारण स्वदेशी खेलाडीहरुको मात्रै सहभागिता रहेको मनाङका स्थानीय पेम्वा गुरुङले बताए ।

विशेष ज्ञान, सीप र दक्षता भएका खेलाडीहरुले यस वर्ष स्थानीयलाई तालिम समेत प्रदान गरेका थिए । नेपालको पर्यटन क्षेत्रलाई विश्व सामु चिनाउने मुख्य आधार माउन्टेनियरिङ नै भएकोले यसको विकास र विस्तारसँगै थप प्रवद्र्धनमा स्थानीयलाई सक्रिय र जिम्मेबार बनाउन प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

अघिल्ला वर्षहरूमा मनाङमा स्वदेशी तथा विदेशीहरुको भिड हुन्थ्यो । पर्यटकीय सिजनमा मनाङका होटेल तथा रिसोर्ट पर्यटकहरुले खचाखच भरिएका हुन्थे । तर, यसपटक भने विश्वव्यापी कोभिड–१९ को महामारीका कारण मनाङको पर्यटन सुनसान बनेको छ ।
मनाङका अधिकांश स्थानीयको मुख्य व्यवसाय पर्यटन भएपनि लगातार दुई सिजनमा पर्यटकहरुको आगमन नहुँदा पर्यटन व्यवसायीहरु निरास बन्दै आएका छन् ।

सिजन सुरु भएसँगै पर्यटन व्यवसायबाट नै जिविकोपार्जन गर्दै आएका होटल व्यवसायीहरु बर्षका दुवै सिजनमा पर्यटक आगमन शुन्य भएपछि ठूलो समस्यामा परेको स्थानीय व्यवसायीहरुको भनाइ छ ।मनाङमा तिलिचो ताल, गंगापूर्ण ताल, आइस लेकलगायतका दर्जनौ तालहरु, थोरङला भन्ज्याङ, लार्के भन्ज्याङ, लगायतका प्रसिद्ध पदमार्ग, जिल्लामा रहेका अनेकौँ गुम्वा तथा स्थानीय सस्कृति, विकट नार फुलगायतका गाउँहरु प्रमूख आकर्षण हुन् ।

पर्यटकीय सम्पदाहरुसँग रमाउन विदेशीसँगै मनाङमा पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटक आगमनमा पनि उल्लेख्य वृद्धि हुँदै आएको थियो । विशेष गरी दसैको बेला विदा मनाउन र घुमघाम गर्नका लागि युवायुवतीहरु मोटरसाइकल तथा अन्य सार्वजनिक सवारी साधन चढेर मनाङ पुग्ने गरेका थिए ।

तर यो वर्ष कोरोना संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनका कारण पर्यटन व्यवसाय प्रभावित भएको हो । अन्नपूर्ण पदमार्गमा बर्षको दुई सिजनमा पर्यटकहरुको आगमन हुने गर्दछ । विशेष गरी मार्च, अप्रिल, मे महिनामा पर्यटकहरु आउने गर्दछन् भने सेप्टेम्बरदेखि नोभेम्वरसम्म पर्यटकहरुको अत्याधिक चाप रहने गर्दथ्यो ।

तर गत मार्च यता कोभिड–१९ कै कारण देशमा लकडाउन भएपछि पर्यटक आउने दुईवटै सिजनमा मनाङका पर्यटकीय गन्तव्य सुनसान भएका हुन् ।हिउँ पर्ने र चाक्ला जग्गा जमिन नभएकाले मनाङमा अन्य खेती हुँदैन् । मनाङको मुख्य बाली भनेको फापर र आलु हो । त्यसैले त्यहाँका ३ प्रतिशत मानिसहरु मात्रै कृषि पेशामा छन् । मुख्य पेशाका रुपमा मनाङका नागरिकहरुले पर्यटन ब्यबसायलाई नै राजेका छन् । मनाङका ८० प्रतिशत नागरिकहरु पर्यटन व्यवसायमा लागेको सरकारी तथ्यांंक छ ।

प्रतिक्रिया