

मधेसमा सरकार कुनै बेला पनि परिवर्तन हुन सक्छ : मन्त्री कुशवाहा

जनकपुरधाम – मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री इन्जिनियर वसन्त कुशवाहाले मधेस सरकार कुनै पनि बेला परिवर्तन हुन सक्ने बताएका छन्।
बिहीबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री कुशवाहाले सरकार कुनै पनि बेला परिवर्तन हुन सक्ने संकेत गरेको छ।
उनले बारा-२ को उपनिर्वाचन र सरकार परिवर्तनको हल्लाकै कारण आफूले मन्त्रिपरिषद बैठकमा लगेको प्रस्ताव स्वीकार नगरिएको बताए।
मन्त्रालयको पुरै बजेट उपयोग हुन नसक्ने सम्भावना रहेकाले ५० करोड रुपैयाँ मल व्यवस्थापनमा प्रयोग गर्नका लागि मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगे पनि मुख्यमन्त्री सरोजकुमार यादवले स्वीकार नगरेको उनको आरोप छ।
कुशवाहाले भने, ‘आर्थिक वर्षको अन्तिम समयमा बजेटको पुरै उपयोग गर्न सक्ने सम्भावना छैन, त्यसैले मधेसमा मलको अभाव कम गर्नका लागि ५० करोड रुपैयाँ व्यवस्थापनका गर्न मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेको थिएँ। तर मुख्यमन्त्रीजीले प्रस्ताव अस्वीकार गर्नुभयो।’
मन्त्रालयको प्रस्तावले उपनिर्वाचनमा मतदाता जनमत पार्टीप्रति आकर्षित हुने डरले प्रस्ताव अस्वीकार गरिएको उनको दाबी छ।

