

कर्मचारीसँगको सेटिङमा मानव तस्करी गर्ने दुई पक्राउ

काठमाडौं – ओमन पुऱ्याई मानव बेचबिखन गर्ने दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका-६ घर भई काठमाडौंको गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बु र सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-६ घर भई हाल ललितपुरको भैसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङ रहेका छन्। उनीहरूले अध्यागमनका कर्मचारीसँग मिलेर भिजिट भिषामा पठाउने गरेका स्रोतले बताएको छ।
वैदेशिक रोजगारका लागि ओमनमा फ्रि भिषा फ्रि टिकटमा मासिक ६० हजार रुपैयाँसम्म कमाई हुने प्रलोभन देखाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमनको भिजिट भिषामा दुबई ट्रान्जिट बनाई ओमनको Al Ghubra, Sultanate पुऱ्याएका थिए।
कम्पनीमा पुगेका पीडितले ३ हजार ५०० ओमनी रियालमा ओमनी घर मालिकलाई बिक्री गरेका थिए। शारीरिक तथा मानसिक यातना दिई ओमन घर मालिकले २२ घण्टासम्म काममा लगाएको अवस्थामा पीडित अचानक बेहोश भएका थिए।
पुनः कम्पनीमा फिर्ता गरी कम्पनीको मालिकले आफ्नो घर तथा अफिसको काममा लगाई राखेका थिए। पीडित कम्पनीबाट भागेर नेपाली राजदूतावासमा पुगेर ६ दिनसम्म बसी नेपालबाट हवाई टिकट लिई फागुन २९ गते नेपाल आएका थिए।

