

साउदीको जेलमा रहेका कार्कीलाई छुटाउन सहयोग रकम जुट्दै

धनकुटा – क्षतिपूर्ति बापतको रकम तिर्न नसक्दा साउदीको जेलमा रहेका चौविसे गाउँपालिका-४ फलामेटारका दिनेश कार्कीलाई छुटाउन आर्थिक सहयोग जुट्न थालेको छ। साउदी सरकारले ५५ हजार रियाल क्षतिपूर्ति बापत जरिवाना रकम तोकेको थियो।
राजदूतावासको पहलमा साउदी सरकारले ५५ हजारबाट छुट गर्दै ३० हजार पुर्याएको छ। क्षतिपूर्ति बापतको ३० हजार रियाल रकम भर्न नेपाली १० लाख ५० हजार रुपैयाँ नेपाली रकम आवश्यक पर्छ। तर हालसम्म देश तथा विदेशमा रहेका नेपालीहरू, विभिन्न सामाजिक संघसंस्था तथा सरकारी निकायको सहयोगमा ७ लाख २८ हजार ५ सय रुपैयाँ सहयोग रकम जुटेको छिमेकी महेन्द्र कार्कीले बताए।
अब तीन लाख २१ हजार पाँच सय रुपैयाँ अपुग रहेको उनले बताए। सहयोग रकम जुट्ने क्रम जारी रहेको उनको भनाइ छ। वैदेशिक रोजगारीको सिलसिलामा उनी साउदीको अल हवाला फर ट्रेनिङ एण्ड इन्डस्ट्री कम्पनीमा ट्रेलर चालकको रुपमा पुगेका थिए।
कम्पनीले श्रम सम्झौता अनुसारको सेवा सुविधा नदिएपछि उनी बाहिर काम गर्ने सिलसिलामा सवारी साधन दुर्घटनामा परेपछि प्रहरीले पक्राउ गरेको थियो। साउदीको प्रशासनले तोकेको क्षतिपूर्ति बापतको जरिवाना तिर्न नसक्दा विगत डेढ वर्षदेखि जेल जीवन बिताइरहेका छन्। कार्कीको परिवार आर्थिक रुपमा विपन्न छन्।
दुर्गा प्रसाईले घोषणा गरेको सहयोग दिएनन्
साउदीको जेलमा रहेका दिनेश कार्कीलाई छुटाउन २ लाख रुपैयाँ सहयोगको घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईले उक्त रकम हालसम्म पनि उपलब्ध नगराएको परिवारले बताएका छन्। गत फागुन पहिलो हप्ता दिनेशका बुवा गणेशबहादुर कार्कीले काठमाडौंमा दुर्गा प्रसाईसँग भेट गरेका थिए।
भेटको क्रममा कार्की सहितको टोलीलाई प्रसाईले छोरा छुटाउन २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने वचन दिएका थिए। तर हालसम्म पनि उक्त सहयोग रकम उपलब्ध नभएको छिमेकी महेन्द्र न्यौपानेले बताए। रकमका लागि पटक पटक सम्पर्क गर्दा खातामा जम्मा गरिने बताए पनि हालसम्म नआएको उनको भनाइ छ।
प्रसाईले घोषणा गरेको रकम उपलब्ध भए कार्कीलाई छुटाउन सहज हुने उनले बताए। यता प्रसाईसँग एक हप्ता अघि टेलिफोन सम्पर्क गर्दा सहयोग बापतको रकम तत्काल पठाउने बताएका थिए।

