भट्टराईलाई मत माग्दै किसान श्रेष्ठ भन्छन्, ‘घर कहाँ हो भन्दा तनहुँ भन्न लजाउनेहरु आउने ठाउँ होइन तनहुँ’


तनहुँ – नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले घर कहाँ हो भन्दा तनहुँ भन्न लजाउनेहरु तनहुँमा आएर राजनीति गर्न लागेको बताएका छन् ।

आसन्न उपनिर्वाचनका लागि प्रचारप्रसारका लागि तोकिएको अन्तिम दिन बिहीबार तनहुँमा आयोजित एक सभालाई सम्बोधन गर्दै सांसद श्रेष्ठले तनहुँ नेता आयात गर्ने नभई निर्यात गर्ने जिल्ला भएको समेत बताए ।

मन्तव्यका क्रममा श्रेष्ठले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई इंगित गर्दै ‘तनहुँमा अन्य जिल्लाबाट नेता आउने होइन, तनहुँलाई आफ्नो भन्न लजाउनेहरु अहिले म यहीँ जन्मेको भन्दै हुँकार गर्दै हिँड्न थालेको बताएका छन् ।

श्रेष्ठले नाम नलिइकन नेकपा एमालेका उम्मेदवारलाई इंगित गर्दै भने, ‘तपाईंको घर कहाँ हो भन्दा तनहुँ भन्न लजाउने साथीहरु अहिले म तनहुँमै जन्मेको हुँ भन्दै हुँकार गर्दै हिँड्नुभएको छ, ।’

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई इंगित गर्दै श्रेष्ठले भने, ‘डाक्टर साब अहिले त दाई भाउजुको पेलाइले तनहुँ आउनुभयो, अब रवि लामिछाने र निकिता पौडेल भाउजुको पेलाईपछि कुन पार्टीमा जानुहुन्छ ?’ भनेर प्रश्न गरे । उनले भने, ‘तनहुँ ‘डम्पिङ’ गर्ने साइड होइन, तपाईंको रिस ओकल्ने ठाउँ होइन, तनहुँ सचेत मतदाता भएको ठाउँ हो ।’

श्रेष्ठले तनहुँ जिल्लाको विकासका लागि अन्य जिल्लाबाट नेता आउनुनपर्ने बताए । उनले तनहुँले नेता आयात गर्ने ठाउँ होइन, निर्यात गर्ने ठाउँ भएको बताए । उनले तनहुँका प्रदीप पौडेल काठमाडौं, आफू बारा र तनहुँ–१ का शंकर भण्डारी तनहुँ २ मा गएको प्रसंग निकाल्दै तनहुँमा बाहिरका नेताहरुको आवश्यकता नभएको बताए । उनले आयातित व्यक्तिहरुलाई भोट नहाल्न समेत अनुरोध गरे ।

उनले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको त्यागलाई स्मरण गर्दै गत निर्वाचनमा आफूले भट्टराईलाई अर्को स्थानमा जाउँभन्दा भट्टराईले, ‘भाई तिमी जाने भए जाउ, म त जहिले तनहुँ जिल्लामा पालो आउँछ, म अन्त जाँदैन भनेको स्मरण गर्दै’ श्रेष्ठले भट्टराई जस्तो त्यागी नेता सबैले मत दिन आह्वान समेत गरे । उनले यसपटक गोविन्द भट्टराईले निर्वाचनमा जित हात पारेमा यसपटक पनि किसान श्रेष्ठले भोट पाए सरह हुने बताउँदै आफ्ना मतदातासँग भट्टराईका लागि मत मागे ।

प्रतिक्रिया