गुल्मीमा भेटियो सडेको शव, कोही आफन्त हराएको खबर गर्न प्रहरीको अनुरोध


गुल्मी – गुल्मीको रूरूक्षेत्रको पानीयाटे खोलामा शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मंगलबार दिउँसो करिब साढे दुई बजे जिल्लाको रूरूक्षेत्र गाउँपालिका–५ दाङसिरस्थित पानीयाटे खोलामा सडेगलेको अवस्थामा शव फेला परेको हो।

वेवारिसे अवस्थामा फेला परेको शव पहिचान गर्न सक्ने अवस्थामा नरहेको प्रहरी निरीक्षक रवीन्द्र कुमार श्रेष्ठले जनाए ।

टाउकोदेखि शरीरका मांशपेशी समेत सकिएर कंकालमात्रै बाँकी रहेको अवस्थामा शव रहेका कारण महिला र पुरूष समेत छुट्याउन नसकिएको इन्स्पेक्टर श्रेष्ठले बताए।

खोलामा दुर्गन्धित अवस्थामा शव भेटिएको बारे स्थानीले प्रहरीलाई खबर गरेका थिए।

सूचनापछि प्रहरीले घटनास्थल पुगी प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मी पठाएको छ।

जिल्ला प्रहरीले कोही कसैको आफन्त नातेदार हराएका छन् भने सम्पर्क गर्नका लागि अनुरोध गरेको छ।

यसबारेमा सामाजिक सञ्जालमार्फत पनि सुचना जारी गरिएको र प्रहरीका तल्लो निकायहरुमा पनि सूचना पठाएको इन्सपेक्टर श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया