
मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु
म्याग्दी – बेनी नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा चितुवा मरेको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बेनी–१ रत्नेचौरको घैयारामा साँझ ७ बजे बागलुङबाट आउँदै गरेको सुशील खत्रीको बा ८ प ४०७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चितुवा मरेको हो।
सडकमा गुडिरहेको मोटरसाइकलमा सडक पार गर्दै गरेको चितुवा ठोक्किएपछि घटनास्थलमा नै मरेको डिभिजन वन कार्यालय म्याग्दीका राजेन्द्र सापकोटाले बताए। सापकोटाका अनुसार मोटरसाइकलको अघिल्लो भागमा चितुवाको टाउको ठोक्किएको थियो।
करिब ४० केजीको चितुवाको उमेर २ वर्ष अनुमान गरिएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिए। प्रमुख रानाभाटका अनुसार मृत चितुवाको बुधवार मुचुल्का तयार गरी व्यवस्थापन गरिँदै छ। उक्त घटनामा मोटरसाइकल चालक भने सुरक्षित नै रहेका प्रहरीले जनाएको छ।
म्याग्दीमा जंगल आसपासका क्षेत्रमा वस्ती विस्तार हुँदा चितुवाको वासस्थान सुरक्षित नहुनु,चितुवाको आहार प्रजातिमा कमी आउनु,प्राकृतिक आनिबानीमा परिवर्तन जस्ता कारणले चितुवा आक्रामक बन्दै गएको रानाभाटले बताए।
म्याग्दीमा चितुवाको संख्या बढेकाले आहाराको खोजीमा चितुवा मानव वस्ती र सडक छेउछाउमा देखिन थालेको पाइएको स्थानीयले बताएका छन्। वनजंगलमा लागेको डढेलोका कारण वासस्थान नष्ट हुँदा चितुवा बाहिर निस्किएको हुनसक्ने रानाभाटले बताए।



कागजपत्र |
