लकडाउन छेकोमा हतारिएको त्यो सुटिङ


नेमिष गौतम

काठमाडौं – कोरोना महामारी नहुँदो हो त लकडाउनको छेकोसम्म छायांकनमा रहेका फिल्महरु यतिबेला रिलिजको तयारी हुन्थे । फिल्मको प्रमोसन गर्न निर्देशक, निर्माता तथा कलाकारको दौडधुप उस्तै हुन्थ्यो । तर अवस्था त्यो रहेन । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण नेपालमा चैत ११ गतेबाट लकडाउन शुरु हुने भएपछि फ्लोरमा रहेका फिल्महरु ‘ए मेरो हजुर ४’, ‘परदेशी २’, ‘२ नम्बरी’ र ‘विच्छेद’ ले छायांकन रोके । भलै अहिले लकडाउन र निषेधाज्ञा नभएपछि फिल्म ‘ए मेरो हजुर ४’ को राजधानीका विभिन्न स्थानमा छायांकन भइरहेको छ । तर त्यो समयमा कोरोनाको हल्लाबीच फिल्मको छायांकन गरिरहँदा फिल्म निर्माण युनिटलाई चुनौती र तनाव उत्तिकै थियो ।

यी फिल्ममध्ये सायदै त यतिबेला बढी पीडा निर्देशक दीपेन्द्र लामालाई छ । उनको फिल्म ‘२ नम्बरी’ बाहेक अन्य निर्देशकका फिल्महरुले सुटिङ गरिहाले पनि दीपेन्द्रले भने यो वर्षको फागुन अन्त्य वा चैतको पहिलो हप्ता नै पर्खनुपर्ने हुन्छ । ‘हामीले पोखराको घाचोक गाउँमा चैत ९ गतेसम्म सुटिङ गर्यौ । त्यसपछि १० गते काठमाडौं फर्कियौं । हाम्रो भुटानी कलाकार पनि भुटानै फर्किनुभयो । सरकारले लकडाउन नै गर्छ होला भन्ने सोचेको थिएन । लामो दुरीको यातायात बन्द गर्ने भनेपछि हामी तुरुन्तै काठमाडौं फर्कियौं’, दीपेन्द्र भन्छन्, ‘फिल्म सुटिङ भएको जम्मा १० दिन भएको थियो । त्यसकारण कलाकार तथा प्राविधिकले छिटो काम गरुम भन्ने वातावरण भएन । त्यहाँ अझै २०,२२ दिन सुटिङ बाँकी थियो । लडकाउन ६,७ महिना जाला भन्ने सोचेका थिएनौं । लकडाउन खुलेर अवस्था सहज भए पनि हामी फागुनको अन्तिम अथवा चैतको पहिलो हप्ता मात्रै सुटिङ शुरु गर्छौ । त्यो बेलाको सिजनलाई मिट गरेर सुटिङ गर्नुपर्नेछ ।’

दीपेन्द्रका अनुसार फिल्मको सुटिङ शुरु हुँदा गाउँमा खासै डर थिएन । ‘तर ८,९ गते घाचोकको वडा अध्यक्ष तथा स्थानीयले अब गाह«ो हुन्छ है भन्ने हिन्ट्स चाहिँ दिएका थिए’, उनले भने । फिल्ममा दयाहाङ राई, पल शाह, वर्षा राउत र भुटानी नायिका उगेनलगायतको अभिनय छ ।

निर्देशक झरना थापाको फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन कास्कीको पोखरापछि ललितपुरको पाटनमा भइरहँदा चैत ९ गतेबाट रोकियो । फिल्मका एक सदस्य वसन्त अधिकारी कोरोनाप्रति मान्छेको चासो बढेपछि सुटिङ रोकेको बताउछन् ।‘ नेपालमा कोरोना नदेखिए पनि चीनमा तथा अन्य मुलुकमा संक्रमितको संख्या बढिरहेको थियो । चीनबाट आएको भाइरस हो रे, त्यहाँ रोबोटले उपचार गरिरहेको छ रे भन्ने सुनिन्थ्यो । त्यस्तो खासै डर चाहिँ थिएन । अन्योल माहौल थियो, तर डर कसैको अनुहारमा देखिएको थिएन । मान्छेहरुका मुखबाट यस्तो यस्तो भइरहेको छ नि भन्ने कुरा भएपछि अहिलेलाई बन्द गरौं, अनि माहौल हेरेर सुटिङ गरौं भन्ने सल्लाह भयो । नभन्दै दुई दिन पछि लकडाउन शुरु भयो’, अधिकारी सम्झन्छन्, ‘हामीले सुटिङ रोक्नु दुई दिन अगाडि देखि प्रोडक्सनबाट मास्क, सेनिटाइजरको व्यवस्था गरिसकेका थियौं । बाहिर मान्छे यति मरे भन्दा ‘ला, होर’ भन्थ्यौं । सरकारले घोषणा गर्नु अघि नै हामी सुटिङ केही दिनका लागि रोक्ने कि भन्ने तयारीमा थियौं ।’

वसन्तका अनुसार पोखरामा १२ दिन र काठमाडौंमा ७ दिन छायांकन भएको थियो । फिल्मको ४० प्रतिशत छायांकन सकिएको छ । सुटिङ रोकिए पनि फिल्मका प्राविधिक तथा कलाकारहरु सुटिङका लागि ‘स्टेण्डबाइ’मा नै छन् । उनीहरु एकअर्काको नियमित सम्पर्कमा छन् र प्रशासनको अनुमति कुरिरहेका छन् । सुनिलकुमार थापाले निर्माण गरिरहेको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, सरोज खनाललगायतका कलाकारहरुको अभिनय छ ।

फिल्म छायांकनका लागि रामेछाप पुगेको ‘विच्छेद’ युनिटलाई लकडाउन अघि भन्दा पनि पछिको अवस्था पीडादायी रह्यो । फिल्मका निर्देशक सत्यराज चौलागाईंका अनुसार लकडाउन भन्दा एकदिन अघि सुटिङ रोकिएको थियो । ‘सुटिङ सकेको रातीदेखि लकडाउन शुरु भयो । हामी त्रासैत्रासको बीचमा चारदिनसम्म रामेछापमै बस्यौं । अब के होला के होला भन्ने थियो । हामी ३५ जनाको टिमलाई खाने, राख्ने मामलामा खर्च पनि उत्तिकै भइरहेको थियो’, सत्यराजले भने, ‘त्यहाँ वडाध्यक्षदेखि स्थानीयको पहलमा सिडियो कार्यालयसम्म गएर आफ्ना कुरा राखेपछि सिडियोले सामानहरु त्यही छोडेर मान्छेमात्र आउने गरी एउटा गाडी र पास मिलाइदिए ।’

यो फिल्मको पाँचौं दिनसम्म सामान्य रुपमा नै सुटिङ भएको थियो । ‘हामीलाई डर, दबाब केही भएन । यो रोग होला भन्ने जानेको भए हामी जाँदैन थियौं । सुटिङमा कलाकार तथा प्राविधिकले खासै दबाब दिएनन् । तर हाम्रो सिनियर कलाकार लय संग्रौला दाई यो अवस्थामा यस्तो हुनसक्ला है भनेर संकेत दिनुहुन्थ्यो । तर हामीले गम्भीर रुपमा लिएनौं’, चौलागाईंले भने, ‘चार दिन त्यतिकै गाउमा बसियो । काम गर्न नपाएको पीडा, अब डुबियो भन्ने चाहिँ भएको थियो । लकडाउन खुलेपछि साउन २ गते गएर हामीले सामान ल्यायौं ।’ मुकुन भुषाल र लक्ष्मी बर्देवाको प्रमुख भूमिकामा अभिनय रहेको यो फिल्मको सम्पूर्ण छायांकन रामेछापमै हुनेछ । फिल्मलाई नेपाल बाहिर रिलिज पछि नेपालमा रिलिज गर्ने निर्माण पक्षको योजना छ ।

‘बोल माया’, ‘गलबन्दी’ गायक प्रकाश सपुतलाई नायकको रुपमा डेब्यू गराइएको फिल्म ‘परदेशी २’को अवस्था पनि कम दुःखपूर्ण रहेन । पोखरामा छायांकन भइरहेको यो फिल्म पनि लकडाउनकै मारमा पर्यो । फिल्मका निर्देशक नारायण रायमाझीका अनुसार लकडाउन हुनुभन्दा एक दिन अगाडि सुटिङ रोकेर उनीहरु काठमाडौं फर्किए । ‘कोरोना संक्रमण नदेखिए पनि हल्लाले अन्तिम–अन्तिममा प्रेसर नै भयो । काम पनि हतार हतारमै गर्नुपर्यो । कलाकार तथा प्राविधिकबाट प्रेसर त भएन, तर हामी आफैंलाई मेन्टली प्रेसर अनुभव गर्यौ’, नारायण सम्झन्छन्, ‘गाउँलेले पनि समर्थन र सहयोग गरिरहेका थिए । तर आफैंलाई यस्तो अवस्थामा सुटिङ गर्नु हुँदैन भन्ने लाग्यो । नैतिक प्रेसर भयो र मुड बनाउन पनि गाह«ो भयो ।’

नारायणले पोखरामा २० दिन जति सुटिङपछि काठमाडौं, पोखरा, पाल्पा र भारतमा सुटिङ गर्ने योजना बनाएका थिए । तर लकडाउनले योजना पुरा हुन पाएन । ‘अहिलेसम्मको लागि प्राविधिक, कलाकार जुटाउन गाह«ो छैन । सरकारले सुटिङको लागि अनुमति दियो भने हामी काम शुरु गरिहाल्छौं । अझै ५० प्रतिशत जति सुटिङको काम बाँकी छ’, उनले भने । फिल्ममा वर्षा सिवाकोटी, केकी अधिकारी र दिलीप रायमाझीको पनि अभिनय छ ।

प्रतिक्रिया