प्रहरीमा एसएसपी बढुवाको तयारी : राम्रालाई नछाड्ने आईजीको रणनीति !

नेता समाएर फड्को हान्ने दौडमा जुनियर एसपीहरु


काठमाडौं – नेपाल प्रहरीमा बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको लागि बाटो खुलेको छ । बुधबार १३ जना एसएसपी प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवामा सिफारिस भएसँगै एसएसपी बढुवाको बाटो खुलेको हो ।

बढुवा समितिले गरेको सिफारिस अनुसार एकहप्ता पुरा भएपछि गृहमन्त्रीले डीआईजी बढुवाको निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । सम्भवतः अबको पाँच दिनभित्र गृहमन्त्रीले डीआईजी बढुवाको निर्णय गर्नेछन् । त्यसलगत्तै गृह मन्त्रालयले एसएसपी बढुवाको तयारी गर्नेछ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी संगठनमा १६ एसएसपीको पद रिक्त छ । बढुवाको बाटो खुलेसँगै दुई टोलीका ३ दर्जनभन्दा बढी प्रहरी उपरीक्षक (एसपी)हरु एसएसपी बढुवाको लाइनमा छन् । प्रहरी नियमावली २०७१ मा एसएसपी बढुवाका लागि गृहसचिवको अध्यक्षतामा सिफारिस समिति हुने उल्लेख छ ।

प्रहरी नियमावलीअनुसार कार्यसम्पादन मूल्याकंन, नेतृत्व क्षमता, बढुवा समितिको अंक, शैक्षिक योग्यता, तालिम, चुनौतीपूर्ण जिम्मेवारी, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव र ज्येष्ठतालाई महत्वपूर्ण आधार लिइन्छ । यसअघि विभुषणको अकं समेत जोडिन्थ्यो । तर भनसुनको आधारमा तक्मा पाउने प्रवृत्ति बढेपछि अहिले विभुषणबापत पाउने अकं काटिएको छ ।

एसएसपी बढुवाको मेरिट लिस्टमा सबैभन्दा माथि रहेका छन् एसपी विमल बस्नेत । ५ पुस २०५३ मा राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका बस्नेत २०७४ सालमा एसपी भएका हुन् । त्यसैले उनी मुख्य दाबेदारको रुपमा हेरिएका छन् ।

तर, पटकपटक कारबाही खाएका बस्नेत निलम्बनमा समेत परेका प्रहरी अधिकृत हुन् । बस्नेतमाथि कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख हुँदा आफूमातहतका प्रहरी कार्यालयबाट रकम उठाएको आरोप लागेको थियो । उनले रकम उठाएको पुष्टि भएपछि निलम्बन गरिएको थियो ।

त्यसपछि एउटै ब्याचका २४ जना प्रतिस्पर्धामा छन् । बाँकी कसलाई एसएसपी बनाउने भन्नेमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालय अन्यौलमा छ । एसएसपीमा बढुवा हुन २९ जेठ २०७५ मा एसपी भएका टोलीहरुबीच कडा प्रतिस्पर्धा हुने पक्का छ ।

एसपी बस्नेतपछि विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, विश्वमणि पोखरेल, शेखर खनाल, अविनारायण काफ्ले र सोमेन्द्रसिंह राठौर अगाडि छन् । उनीहरुमध्ये भट्टराई, खनाल, अधिकारी र राठौर प्रहरी संगठनमा अब्बल प्रहरी अधिकृतको रुपमा परिचित छन् ।

बाँकी विश्व अधिकारी, विश्वमणि पोखरेल, अविनारायण काफ्ले कार्यक्षमतामा कमजोर मानिन्छन् । उनीहरुमध्ये कतिपय जिल्ला प्रहरी प्रमुखको रुपमा रहँदा जिल्लाको कमाण्ड गर्न नसकेको आरोपमा बीचमै तानिएका थिए । तरपनि उनीहरु एसएसपी बढुवामा छुट्ने छैनन् ।

त्यस्तै मुकुन्द मरासिनी, दिनेशराज मैनाली, कृष्णबहादुर पल्लीमगर, भूपेन्द्र खत्री, गंगा पन्त, गोपालचन्द्र भट्टराई, रवि कुमार पौडेल, बेलबहादुर पाण्डे, दिपशमशेर जबरा, नविनराज राई, तारादेवी थापा, आभूषण तिम्सिना, प्रवीण पोखरेल, प्रज्वल महर्जन, वसन्त रजौरे, वीरबहादुर ओली र चन्द्रदेव राई बढुवाको लाइनमा छन् ।

उनीहरु ३ असार २०५६ मा प्रहरी सेवामा प्रवेश गरेका अधिकृतहरु हुन् । जसमध्ये अधिकांश कारबाही भोगेका अधिकृत छन् भने कोहीले संगठनमा अब्बल प्रहरी अधिकृतको पहिचान बनाएर संगठनको छवि बढाएका छन् । जसको कारण राम्राहरु संगठन प्रमुखको रोजाईमा समेत परेका छन् ।

एसपी गंगा पन्त प्रहरी संगठनमा अब्बल महिला अधिकृतको रुपमा चिनिएकी छन् । त्यस्तै रबि पौडेल संगठनमा इमान्दार प्रहरी अधिकृत हुन् । वसन्त रजौरे पनि संगठनमा राम्रो मानिन्छन् । मरासिनी र खत्री पनि संगठनमा अब्बल मानिन्छन् । त्यसैले उनीहरु एसएसपी हुने सम्भावना रहेको प्रधान कार्यालय स्रोत बताउँछ ।

यता, एसपी मैनाली, महर्जन, राई, ओली, पल्लीमगर र भट्टराई कार्यक्षमताका निकै कमजोर रहेको बताइन्छ । उनीहरुमध्ये कतिपय कारबाही खाएका अधिकृत हुन् । त्यस्तै आभुषण तिम्सिना अब्बल प्रहरी अधिकृत भएपनि बेलाबेला विवादमा आइरहन्छन् । तर, पनि तिम्सिनाले एसएसपीमा बढुवा हुन दौडधुप गरिरहेका छन् ।

हालका प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले समेत हाम्रालाई भन्दा राम्रा र सिनियर प्रहरी अधिकृतलाई बढुवामा नछुटाउने रणनीति अपनाएका छन् । जसले गर्दा संगठनको हितमा काम गर्ने प्रहरी अधिकृतहरुले शक्तिकेन्द्र चहार्न भन्दा संगठन प्रमुखको रोजाईमा पर्न तँछाडमछाड गर्नुपर्ने हुन्छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत प्रहरीको सरुवा/बढुवामा हस्तक्षेप नगर्ने बताइसकेका छन् । जसले गर्दा आईजी कुँवरलाई समेत काम गर्न सहज हुने अनुमान छ । ‘कुँवर आईजी भएपछि बढुवाको लागि पहिलाको जस्तो तँछाडमछाड अहिले देखिएको छैन्,’ प्रधान कार्यालयका एक अधिकृत भन्छन्, ‘आईजीको सिफारिसमै यसअघिको बढुवा भएको देखिन्छ ।’

तर, त्यसो भनिरहँदा एसएसपी बढुवाको लागि अन्य एसपीहरुले शक्तिकेन्द्र धाएका छैनन् भन्न सकिन्न । पछिल्लो लटका एसपीहरु समेत एसएसपी बढुवाको लागि प्रतिस्पर्धामा उत्रिएका छन् । उनीहरुले आफूनजिकका नेताहरुलाई भेटेरै बढुवाको लागि भनसुन गरिरहेको स्रोत बताउँछ ।

प्रहरीको बढुवामा वरिष्ठता र कार्यक्षमता भन्दा पनि नेताको चाकडीले खास अर्थ राख्ने गरेको नजिर बसिसकेकाले पनि जुनियर एसपीहरू समेत निर्धक्क नेताका घरघरमा धाउन थालेका हुन् । स्रोतकाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटिरहेका छन् ।

त्यतिमात्र होइन, झण्डै २ वर्षपछि बढुवा भएका एसपीहरू माओवादीको सरकार भएकोले प्रधानमन्त्री दाहालकी स्वकीय सचिव रहेकी छोरी गंगा दाहाल, अर्का स्वकीय सचिव रमेश मल्लदेखि माओवादीका शीर्ष नेताहरूकहाँ धाउने र दबाब दिइरहेका छन् । उनीहरुले जसरी पनि आफूलाई एसएसपीमा बढुवा गर्न भनेर दबाब दिएको स्रोत बताउँछ ।

प्रतिक्रिया