

ईजरायल पठाईदिन्छु भन्दै ३१ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं – जिटुजी सम्झौतामार्फत ईजरायल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीको लागि नेपाल सरकार र ईजरायलबीच हुने जिटुजी सम्झौतामार्फत् सरकारी कोटामा ईजरायल पठाइदिने र त्यहाँ पुगेपछि कृषि कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी २ जना पीडितहरुबाट पटकपटक गरी ३१ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा बर्दिया गुलरिया नगरपालिका(३ खैरापुर टोल घर भई काठमाडौं महानगरपालिका(२ लाजिम्पाट बस्ने २६ वर्षीय सुनिल कुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं लाजिम्पाटबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि उक्त विभागमा पठाइएको छ ।

