

केन्द्रीय समिति बैठक बसिरहेका बेला ढाका कुमारको पत्रकार सम्मेलन: चुनावको मुखमा पार्टीविरुद्ध षडयन्त्र गरियो

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भए पछि पार्टीको उनका बारेमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बसिरहेका बेला पत्रकार सम्मेलनको आयोजना गरी चुनावको मुखमा उक्त अडियो सार्वजनिक हुनु पार्टीविरूद्धको षडयन्त्र भएको समेत बताएका छन्।
बुधबार साँझ उनका बारेमा निर्णय गर्न रास्वपा केन्द्रीय समितिको बैठक बसिरहेका बेला रास्वपा मुख्यालयमा श्रेष्ठले पत्रकार सम्मेलन गरेका हुन्।
उनले यो विषयमा आफू अदालत गइसकेको र छिट्टै क्लिनचिट ल्याएर आउने दाबी गरे।
उनले आफ्नो कारणले उपनिर्वाचनमा पार्टी अफ्ठेरोमा परेको पनि बताए । तर, यो चुनावको मुखमा गरिएको षड्यन्त्र भएकाले भोट दिएर पार्टीको उम्मेदवारलाई निर्धक्कका साथ अत्यधिक बहुमतले जिताउन उनले आग्रह गरे । ‘यो पार्टीलाई तिनै निर्वाचन क्षेत्रमा हराउन गरिएको सुनियोजित योजनामा हो’, उनले भने, ‘जसले पार्टीलाई राम्रो मान्नुभएको छ, भोट दिएर अत्यधिक बहुमत दिएर लिडरहरुलाई जिताइदिनु होला । क्लिन चिट पाएपछि म फर्किनेनै छु ।’ मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड बार्गेनिङ गरेको विषय बाहिरिएपछि उनी विवादमा तानिएका छन् ।
उक्त अडिओ आफ्नो नभएको र एडिट गरेर बनाइएको पनि उनको दाबी छ। पत्रकारले सोधेका प्रश्नको भने श्रेष्ठले जवाफ दिएनन्।

