

भागरथी प्रकरणः बलात्कार र हत्या अघिपछिको नालीबेली, अनुसन्धानमा आफैं खटिए डिआईजी सुवेदी

–लोकेश साउद
बैतडी– बैतडी दोगडाकेदार–७ की भागरथी भट्टको बलात्कार र हत्याले अहिले सनसनी मच्चाएको छ। भट्ट प्रकरणको अनुसन्धानका लागि सुदूरपश्चिम प्रहरी प्रमुख नायव महानिरिक्षक (डिआईजी) उत्तम सुवेदी आफैं खटिएका छन्।
निर्मला पन्त बलात्कार र हत्या प्रकरणको दोस्रो संस्करणका रुपमा चर्चा र आलोचना हुन थालेको भट्ट प्रकरणको अनुसन्धानलाई केही दिनमा नै टुंगो लगाउन डिआईजी सुवेदी आफैं सक्रिय भएका हुन्।
आइतबार उनी घटनास्थलमा पुगेर अनुसन्धानका प्रगति विवरण बुझेका छन् भने थप अन्य रणनीतिक योजनामा लागेका छन्। आखिर भागरथीको बलात्कार र हत्या गर्ने को हुन्? ‘यस विषयमा केही दिनमा नै अनुसन्धान पूरा गरी सबै विवरण सार्वजनिक हुनेछ’, प्रहरी स्रोतले भन्यो।
बलात्कार र हत्या अघिपछिको कथा
‘घमण्ड नगर्दा हुन्छ, पृथ्वीको पाहुना हो हामी । मालिक होइन’ गएको मंगलबार दोगडाकेदार–७ कि भागरथीले यही स्टाटस लेखेकी थिइन् समाजिक संजाल फेसबुकमा । थाहा छैन यो उनले आफ्ना लागि लेखेकी थिएन वा अरुका लागि । तर संयोग पनि कस्तो । त्यसको २४ घण्टा नपुग्दै उनले पृथ्वीबाट मानव चोला नै त्यागिन् ।
उनको यो स्टाटस पढ्नेहरुले पनि अनुमान गरेका थिएनन् होला, वियोगान्त कथाजस्तै लाग्ने यो दुखान्त सँयोगले मानव सभ्यातालाई नै गिज्याउने छ ।
शुक्रवार बिहान । दोगडाकेदार–७ चडेपानीकी १७ बर्षिया भागरथीको शव सडकभन्दा मुस्किलले ५० मिटर तल बनमाराको झाडीमा पल्टिएको थियो । जुन सडकबाटै पनि देख्न सकिन्थ्यो । घटनास्थललाई प्रहरीले सिल गरेको थियो । वरपरका गाउँका सयौ मानिसहरुले घटनास्थल घेरेर राखेका थिए । बैतडी–दार्चुला सडकको खोचलेक बजारबाट पश्चिमतर्फको कच्ची बाटोलाई पछ्याउँदै जाँदा करीब २ किलोमिटरको दुरीमा घटनास्थल थियो ।
बुधवार उनी पढ्ने सनातन धर्म माबिबाट फर्किएपछि करीब २ बजेको समयमा उनी खोचलेक बजारमा देखा परेको स्थानीयहरुले बताएका छन्। जुन दिन उनी घर फर्किनन् । आफन्तले साथीको घरमा गएको वा कोही केटासँग भागेर गएको अनुमान गरे । उनी सम्पर्क बिहीन भएपछि छर छिमेकी सबै खोजिकार्यमा लागे । ‘छिमेकीहरुको घरमा खोजि गर्यौं, उसका साथीहरुलाई सोध्यौ’ भागरथीका काका शिवराज भट्ट भन्छन्,‘भागेर गएको अनुमान गरेर ठाउँ ठाउँमा गाडिहरुको चेक गर्न मान्छे पठायौं ।’ तर कही पनि भागरथीको पत्तो चलेन ।
दोस्रो दिन उनको हुलिया सहित खोजिकार्यका लागि स्थानीय खोचलेक प्रहरी चौकीमा निवेदन दर्ता भयो । त्यति बेलासम्म उनी जीवित भएको अनुमान गरेका थिए आफन्तले । उनी पढ्ने सनातन धर्म माबिका बिद्यार्थीहरु पनि खोजीमा जुटिसकेका थिए ।
विद्यालयबाट घर फर्किदै गर्दा गाउँ पुग्न केही मिनेट अगाडि चडेपानीका तीन जना विद्यार्थीले बाटो छेउमा बनमारको झाडी भित्र सँुगुरजस्तै बस्तु देखे । नजिकै झाडीका बुट्यानहरु भाच्चिएका थिए । केही मिटर नजिक गएर हेर्दा त्यहाँ भागरथी थिइन् । तर चीर निद्रामा । कहिल्यै नउठ्ने गरेर सुतेकी उनको तल्लो शरिर निर्वश्त्र थियो । कापी किताव सँगै थिए । तीनै जनाको होस हवास उड्यो । दगुर्दै घर गएर बताएपछि छिमेकी र प्रहरी घटनास्थल पुगेका थिए ।
त्यही ठाउँमा शुक्रवार बिहान संचारकर्मीहरुको टोली पुगेको थियो । त्यो भन्दा अघि नै प्रहरी नायब उपरिक्षक नारायण अधिकारी सहितको प्रहरी टोलीले घटनास्थल सिल गरेर सुरक्षा दिइरहेको थियो ।
प्रमुख जिल्ला अधिकारी मोहन जोशी, जिल्ला अस्पतालका डा. बशन्त जोशी, सरकारी अधिवक्ता लगायत सुरक्षा निकायका प्रमुखहरु घटनास्थलमा थिए । तालिम प्राप्त कुकुर सहित क्षेत्रीय प्रहरी कार्यालय धनगढीको टोली पनि अनुसन्धानमा खटिएको थियो ।
बलात्कार र हत्या
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । भागरथीको हत्या पछाडिका कारणहरु भोली प्रष्ट हुँदै जानेछन् । घटनास्थलको प्रकृति हेर्दा बलात्कार पछि हत्या भएका प्रशस्त प्रमाणहरु देखिएका छन् । कच्ची सडकको खोल्सोबाट उनलाई जबरजस्ती करीब ५० मिटर तल लगिएको देखिन्छ । त्यहाँ लग्दा बाटोमा उनका चप्पल खसेका छन् । तर शरिरमा माटो लागेको छैन ।
उनलाई घिसारेर होइन, बोकेर लगेको अनुमान गर्न सकिन्छ । उनको शरीर अद्र्धनग्न अवस्थामा थियो । तल्लो शरिरको लुगा फुकालिएको थियो । र उनको यौनाङ्गबाट रगत बगेको प्रष्ट देखिन्थ्यो । बलात्कारलाई पुष्टि गर्न यही कुरा काफी छ । उनको हत्या गर्नुपर्ने अन्य कुनै कारण स्थानीयले देखेका छैनन् ।
कुकुरले पत्ता लगायो मोबाईल
प्रदेश प्रहरी कार्यालय धनगढीबाट रातोरात ल्याइएको तालिम प्राप्त कुकुरले भागरथीको शव भएको ठाउँ भन्दा करीब १० मिटर पूर्वतर्फ उनको मोबाईल पत्ता लगायो ।
शुक्रवार बिहान कुकुरले पत्ता लगाएको मोबाईल र छुट्टिएको ब्याट्रीसँगै प्रहरीले सिम कार्ड पनि फेला पारेको छ । अपराधीसम्म पुग्न यो एउटा गतिलो प्रमाण बन्न सक्ने प्रहरीले अनुमान गरेको छ ।
मोबाईल फालिएको ठाउँबाट केही मिटर उत्तर–पुर्वसम्म पनि प्रहरीको तालिमप्राप्त कुकुरले पछ्याएको थिया । तर राती पानी परेका कारण कुकुरबाट अनुसन्धान गर्न बाधा सिर्जना भएको प्रहरी स्रोतले जनायो ।
कमर्स पढ्ने गाउँकी एक्ली थिइन् भागरथी
विद्यालयबाट करीब पाँच किलोमिटर टाढाबाट हिडेर विद्यालय जाने भागरथी गाउँकै एक्लो कमर्स पढ्ने विद्यार्थी थिइन् । विद्यालय जाने बेलामा थुप्रै साथी हुन्थे । तर फर्किने बेला साढे एक घण्टा पहिल्यै उनको कक्षा सकिन्थ्यो ।
पढाई सकिए लगत्तै घरको पुरै काम उनी आफैले गनुपर्ने अवस्थामा रहेको उनका आफन्त बताउँछन् । घरमा बाख्रा पालेर विद्यालय खर्च जुटाउने उनका ब्ुवाको एक महिना अघि मृत्यु भएको थियो । बुवाको उपचारमा खर्च भएको एक लाख भन्दा बढी ऋण अझै तिर्न बाँकी रहेको उनकी आमा बताइन् । घर चलाउन समस्या भएपछि १० कक्षाबाट पढाई छोडेर उनका दाई काम गर्न भारत गएको थिए । सेतो लुगामा बुढी आमा सँग बस्ने भागरथीले घरको सबै काम आफैले गर्नुपर्ने अवस्था थियो ।
हत्यारालाई फाँसीको माग
बलात्कारपछि हत्या आशंका गरिएकी भागरथी पढ्ने विद्यालय सनातन धर्म माबि र उनको गाउँको भुमिराज माबि चडेपानीका सयौं विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् ।
आफ्नो सहकर्मीको हत्यापछि दोशीलाई फासीको माग गर्दै विद्यार्थीहरुले घटनास्थलमै नाराबाजी गरेका थिए । त्यसपछि स्थानीय खोचलेक बजारमा दिनभरी नै बिद्यार्थीहरुले नाराबाजी गरिरहे ।
उनको फोटो सहितको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले चर्को नाराबाजी गर्दै दोशीलाई यथाशिघ्र कानूनी कठघरमा उभ्याउन माग गरेका छन् ।
गाउँलेका आँखाभरी आँशु
गाउँका सयौं महिला, उनका समकक्षी र पुरै गाउँलेहरुले दिनभरी घटनास्थल छोडेनन् । सबैका आँशा आँशुले भरिएका थिए । आँशु पुछ्दै खोल्सोमा बनमाराको झाडीमा पातालो लुगाले छोपेर राखिएको भागरथीको शवतर्फ सबैका नजर तेर्सिएका थिए ।
उनको बलिष्ठ शरिर भुईमा पल्टिएको थियो । खुट्टा भने बाहिरै देखिएका थिए । छिन छिनमा महिलाहरु चर्को आवाज निकालेर रोइरहेका थिए । प्रहरी टोली अनुसन्धानमा खटिएको थियो । घटनास्थल भन्दा केही माथि उनकी आमा सहित पाँच–सात जना महिलाहरु रुदै बसिरहेका थिए । प्रमुख जिल्ला अधिकारी लगायतले शोकाकुल परिवारलाई सान्त्वना दिन खोज्दै थिए । नजिकै प्रदेश साँसद लिलाधर भट्ट पनि थिए । आँशु लुकाउँदै उनले दोशी छिट्टै पत्ता लाग्ने कुरा बताउँदै गर्दा रोइरहेका निरास महिलाहरुका अनुहारमा आँशु मिश्रीत कृतज्ञता झल्किन्थ्यो ।
भगवान र बुवाको फोटो
गाउँभरीका मानिसहरु सबै कामकाज छोडेर घटनास्थलमा ओइरिएका थिए । हिलाम्मे बाटोमा मोटरसाईकल लिएर हामी उनको घर जाँदैगर्दा सेतो लुगा लगाएर एउटी महिला एक्लै घटनास्थलतर्फ आउँदै थिइन् । उनी भागरथीकी आमा रहिछन् ।
उनलाई घटनास्थल नजान अनुरोध गरेर हामी गाउँ पुग्दा सुनसान थियो । गाइबस्तुहरु बाहेक गाउँमा कोही थिएनन् । भागरथीको घरको ढोका बन्द थियो । तर ताल्चा नलगाएको । उनका एक जना आफन्तले ढोका खोले । हामी भित्र पस्यौं । निभ्नै लागेको चुलोमा केही उम्लिदै थियो । त्यो भन्दा भित्र अर्को कोठामा भागरथी र उनकी आमा सुत्ने रहिछिन् ।
कोठाको बायाँतर्फ सानो खटियामा उनका ओड्ने बिछ्याउने कपडा असरल्ल थिए । दायाँपट्टी आमाले सुत्ने बिस्तरा भने केही मिलाइएको थियो । कोठाको एक छेउमा पुरानो धुलो लागेको रेडियो थियो । सबैभन्दा माथिल्लो भागमा एकातिर लक्ष्मी र सरस्वतीको फोटो थियो । अर्कातिर उनका स्वर्गिय बुवाको धमिलो तस्वीर । जसरी धपक्क बल्दो उमेरकी भागरथी एकाएक बनमाराको झाडीमा निभेकी थिइन् । त्यसरी नै उनको बुवाको फोटो र भगवानको फोटोको छेउमा बल्दाबल्दै निभेको दियो थियो ।

