परिवार प्रतिरक्षामा प्रचण्ड उत्रिनुको कारण


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक कलहका क्रममा हुँदै आएको आरोप प्रत्यारोपमा एउटा खेमाको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्डले प्रतिरक्षा गर्न थालेको विषय हो– परिवारले पाएको अवसर।

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मञ्चमा बारम्बार प्रचण्डलाई सह्य नहुनेगरी परिवारवादी भएको आरोप मात्र लगाएका छैनन्, परिवारका लागि मात्रै राजनीति गरेको भन्ने दाबी नै गरिरहेका छन्। ‘छोरीलाई मतपत्र च्यातेर जिताइयो, ज्वाँईलाई घर बनाइदिनै पर्यो, बाबु त यस्तो होस्, ससुरा त यस्तो होस्’, ओलीले भनेका थिए।

प्रचण्डलाई उक्त विषयले बिझाएपछि एउटा अन्तरवार्ताका क्रममा भने,‘ओलीजीका सन्तान भएनन्, मेरा सन्तान भए त यो मेरो दोष हो?’

यो विषयको दोहोरी फेरि पनि चल्यो। प्रधानमन्त्री ओलीले अर्को सभामा भने,‘ओलीका सन्तान भएनन् मेरा सन्तान भए यो मेरो दोष हो? छोरी भएपछि ज्वाँई नाति नातिना हुन्छन् यो मेरो दोष हो? भनेर प्रचण्डले। दोष होइन। तर आफ्ना छोराछोरीचाहिँ छोराछोरी अर्काका छोराछोरीचाहिँ ढुंगा माटो?’

यसरी परिवारमाथि नै प्रधानमन्त्री ओलीले प्रहार गर्न थालेपछि नेकपाको राजनीतिक विवाद व्यक्तिगत तहमा झरेको स्पष्ट देखियो। जसको प्रतिरक्षामा प्रचण्डले आम सभाहरूमा बोल्न थाले।

‘नाताले प्रचण्डका परिवार भए पनि युद्ध र राजनीतिमा योगदान रहेका कारणले नै अवसर नपाउने भन्ने हुँदैन नि’, नेकपाका एक केन्द्रीय सदस्य भन्छन्,‘हेर्दा परिवारलाई गरेको देखिए पनि राजनीतिमा उनीहरूको भूमिका सहयोगी र सक्रियता नै रहँदै आएको छ।’

धनगढीमा भएको विरोध सभामा प्रचण्डले भनेका थिए, ‘म निसन्तान भइँन, मेरा छोराछोरी भए, छोराछोरी भएपछि बुहारी ज्वाँई हुने नै भए, नातीनातिना भए। तर मेरा सन्ता जनयुद्धमा बन्दुक नै बोकेर हिँडेका हुन्।’

परिवारमा वियोगको पनि सामना गरेका प्रचण्डले सभामा मार्मिक प्रश्न गरेका थिए,‘केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भाषण गर्न गएका बेला यहाँ मेरा छोरा बिते, अलिकति मानवीयता पनि नभएका यी कस्ता मानिस हुन्?’

वास्तवमा प्रचण्डका परिवारका सदस्यले तत्कालिन नेकपा माओवादी केन्द्रको राजनीतिमा भने योगदान गरेका थिए। छोरा प्रकाश युद्धकालमा बन्दुक बोकेरै हिँडेका थिए भने बुहारी बीना मगरले पनि भैरवनाथ गणमा माओवादी भएकै कारण यातना भोगेकी थिइन्।

यता छोरी गंगा दाहालले स्वकीय सचिवका रुपमा सहयोग गरिरहेकी छन् भने शान्ति प्रक्रियायता ज्वाँई जीवन आचार्यले पनि पार्टीको काममा सक्रियता देखाउँदै आएका छन्। ‘अवसरका लागि केही न केही प्रभाव त परेको होला तर केही नै नगरी विदेशमा पढाएको भन्ने आरोपको कुनै तथ्य छैन।’

जेठी छोरी ज्ञानु दाहालको निधन भएपछि राजनीतिमा रेणु दाहालले प्रचण्डलाई सघाउँदै आएकी थिइन्। उनी राजनीतिक रुपमा नै दोस्रो संविधानसभाको चुनावमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार थिइन्। पार्टीका विभिन्न कमिटीमा बसेर सक्रिय राजनीतिमा नै रहेको पृष्ठभूमी थियो।

रेणु भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचिन भएकी थिइन्।

बुहारी बिना मगरलाई कञ्चनपुर–१ मा निर्वाचित भएरै प्रतिनिधि सभामा पुगेकी थिइन्। तत्कालिन माओवादीका कतिपय नेताको प्रस्तावका आधारमा नै बिनालाई प्रचण्डले मन्त्रीका लागि प्रस्ताव गरेका थिए।

५ असोजमा बसेको पार्टी सचिवालय बैठकले प्रदेशको अध्यक्ष र इन्चार्ज तोकेको थियो । सात प्रदेशमध्ये चार प्रदेश पूर्व माओवादी केन्द्रको भागमा परेको थियो । त्यसमध्ये प्रदेश ३ को अध्यक्षमा आफ्ना भाइ नारायण प्रचण्डलाई छनोट गरिएको थियो। ‘त्यसमा पनि प्रचण्डको भूमिका बलियो हुँदैन, त्यो प्रदेशले सिफारिस गरेका आधारमा हुने निर्णय हो।’

जेठा ज्वाँई सागर केसीलाई सभामुख कृष्णबहादुर महराको स्वकीय सचिवमा नियुक्त गरिएको थियो। ‘पार्टीका विभिन्न जिम्मेवारीमा दृढतापूर्वक काम गरेका कारण पार्टीको सिफारिसका आधारमा नै उनलाई महराको स्वकीय सचिव बनाइएको थियो’, स्रोतले भन्यो।

प्रधानमन्त्री ओलीले कतिपय मिथ्या आरोप समेत लगाउने गरेका कारण प्रचण्डले परिवारको प्रतिरक्षा गर्नु परेको हो। ‘स्वभाविक रुपमा प्रचण्डको नातेदार भएका कारण राजनीतिमा सानो स्पेश त होला तर विदेशमा अध्ययन गराएको भन्नेलगायतका आरोप त झूठा हुन् त्यसकारण प्रतिरक्षा स्वभाविक हो’, खुमलटार नजिक रहेर काम गरेका एक नेता भन्छन्,‘राजनीतिमा उनीहरूको योगदानलाई नजरअन्दाज पनि त गर्न मिल्दैन।’

अन्य राजनीतिक दलका नेताका सन्तानले पनि गरेका योगदानका आधारमा पार्टीका विभिन्न कमिटीमा रहेर काम गरेका उदाहरण छन्। तर, सत्ता साझेदारी र सम्बन्ध बनुनजेल पारिवारिक सहभागीतामाथि प्रश्न नगर्ने र सम्बन्ध विग्रन थालेपछि यस्तो आक्रमण गर्नुलाई राजनीतिक मान्न नसकिने कतिपयको बुझाई छ।

‘यहि विषयमा प्रचण्डलाई सहकार्य रहेका बेलासम्म बारम्बार प्रश्न गरेको भए अर्को कुरा हुने थियो अहिले आलोचनाका लागि सम्झिने र मानिसलाई भड्काउने कामका रुपमा उपयोग भएको ठहर्छ’, नेकपा नेताहरू भन्छन्,‘के प्रधानमन्त्रीका ससुराली पटिका वा नातागोताका कोही पनि राजनीतिक योगदानका आधारमा लाभको पदमा छैनन्?’

राजनीतिक, सैद्धान्तिक र संवैधानिक विषयमा प्रहार नगरी व्यक्तिगत र पारिवारिक रुपमा प्रहार हुन थालेपछि प्रचण्डले आम सभा र मासमा पनि परिवारको प्रतिरक्षामा बोल्नु परेको कतिपयको बुझाई छ।

प्रतिक्रिया