


कालीकोटको भैँसीसेन गाउँमै स्थापना भयो नुन डिपो

मान्म – कालीकोटको पचालझरना गाउँपालिका–८ को भैँसीसेन गाउँमा आयोडिनयुक्त नुन डिपोको स्थापना गरिएको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको जिल्ला शाखाको समन्वयमा आयोडिनयुक्त नुन डिपोको स्थापना गरिएको हो ।
आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरिएको पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले बताए । ‘आयोडिनयुक्त नुन ल्याउनका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अब सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ ।’
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड जिल्ला शाखाको सहकार्यमा गाउँमा नै नुन डिपोको स्थापना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विश्वकर्माले बताए ।
‘आयोडिनयुक्त नुन ल्याउनका लागि यहाँबाट सदरमुकाम जान र आउनका लागि कम्तीमा रु तीन हजार खर्च हुने गरेको थियो । त्यहाँ गएर पनि एक जनाले पाँच किलो मात्र नुन पाउने गर्नुहुन्थ्यो,’ उनले भने, ‘प्रतिकिलो नौ रुपैयाँ पर्ने नुनका लागि ल्याउन जाँदा खर्च बढी हुने गरेकामा अब त्यो हट्ने भएको छ ।’
पचालझरना गाउँपालिकाको लामो प्रयासपछि पालिकाको स्थानीयलाई बीच ठाउँमा डिपो स्थापना गरिएको गाउँपालिका अध्यक्ष शाहीले बताए।

