

ढोरपाटनमा यो वर्ष पहिलो पटक हिमपात, जनजीवन कष्टकर

बागलुङ – ढोरपाटन उपत्यकामा हिमपात हुँदा चिसो बढेको छ। ढोरपाटनमा यस वर्ष पहिलो पटक शनिबारदेखि हिमपात भएपछि चिसो बढेको ढोरपाटन शिकार आरक्षका सिनियर गेमस्काउट वीर बहादुर थापाले बताए।
हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको गेमस्काउट थापाले बताए। ‘यस वर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो,’ आरक्षका सिनियर गेमस्काउट थापाले भने, ‘हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ। चिसो धेरै बढेको कारण जनजीवन कष्टकर भएको छ।
हिमपातले गर्दा घोडा खच्चड तथा वस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए। हिमपात पछि ढोरपाटन उपत्यकाको वातावरण रमाइलो र आकर्षक भएको छ।
ढोरपाटनमा यस वर्ष ढिलो हिमपात भएको हो। अघिल्लो वर्ष पुस माघमै चार/पाँच पटक हिमपात हुने गरे पनि यस वर्ष चैतमा पहिलो पटक हिउँ परेको आरक्षका सिनियर गेमस्काउट थापाको भनाइ छ।

