पर्यटन क्षेत्र बुझ्ने सरकार र मन्त्री कहिले पाउने ?


काठमाडौं – कोरोना भाइरसको रोकथाम र नियन्त्रणपछि गरिएको लकडाउनले धरासयी बनेको पर्यटन क्षेत्रको अवस्था अहिले पनि दुःख लाग्दो छ । पछिल्लो समय झनै पर्यटन क्षेत्र सुनसान जस्तै बनेको छ ।

यसको कारण हो – पर्यटन क्षेत्रलाई बुझ्ने सरकार र मन्त्री नहुनु । कोरोनाकालपछि मन्त्री फेरिरहे, तर पर्यटन क्षेत्र बुझ्ने एकजना पनि नआएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

पर्यटन क्षेत्रमा सरकार गम्भीर नहुँदा त्यसको प्रत्यक्ष मारमा व्यवसायीहरु परेको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का पूर्वबरिष्ठ उपाध्यक्ष टासी लाक्पा शेर्पा बताउँछन् ।

‘नेपालमा डलर भित्र्याउने पर्यटन उद्योगको ख्याल गर्ने कुनै सरकार वा मन्त्री कोही भएन । यदि पदयात्रा र पर्वतारोहण पर्यटन क्षेत्रलाई सरकारले सहयोग नगर्ने हो भने नेपालमा रोजगारी वृद्धि र आर्थिक विकासको कुनै सम्भव छैन,’ शेर्पा भन्छन् ।

बुझेको मन्त्री नपाउँदा पछिल्लो समय पर्यटन क्षेत्रको अवस्था झनै दुःखद रहेको पर्वतारोही समेत रहेका शेर्पाको बुझाइ छ । सुझाव दिँदै उनी भन्छन्, ‘पर्यटक नआएमा होटल, एयरलाइन्स, ट्राभल, हेलिकप्टर, रेष्टुरेन्ट र यातायातलगायत व्यवसाय  कसरी चल्ने ? त्यसैले थप पर्यटक कसरी ल्याउन सकिन्छ भन्ने कुरामा ध्यान केन्द्रित गरौं सरकार ।’

पर्यटन व्यवसायले कृषि उत्पादन र कृषि क्षेत्रको प्रवर्द्धनमा समेत सहयोग गरेकाले यसलाई सरकारले कृषि क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा समेत सहयोग वा अनुदानको व्यवस्था गर्न व्यवसायी समेत रहेका शेर्पा बताउँछन् ।

पर्यटकलाई नेपाल भित्र्याउने हो भने नेपाल सरकारले भौतिक पूर्वाधारको विकास गर्नुपर्ने हुन्छ । जस्तै एयरपोर्टको पूर्णरुपमा सुधार, वातावरणीय प्रदुषणमा रोक, पूर्णरुपमा हवाई व्यवस्थापन, विभिन्न भाषागत पर्यटक गाइडको व्यवस्था गरिनुपर्छ ।

साँच्चै सरकारले पर्यटकलाई महत्व दिने हो पर्यटनको महत्व छ र नेपालमा यो आवश्यक देखिन्छ भनेर सरकारले सुन्न जरुरी पनि रहेको अधिकांश पर्यटन व्यवसायीहरुको सुझाव छ ।

हाल पर्यटनमन्त्री छन् सुदन किराँती । तर, किराँतीले समेत पर्यटन क्षेत्रलाई वास्ता नगरेको गुनासो छ । यदी मन्त्री किराँतीले समेत पर्यटन क्षेत्रलाई नबुझ्ने हो भने अधिकांश व्यवसायीहरु वैकल्पिक पेशा अंगाल्न बाध्य हुने शेर्पा बताउँछन् ।

त्यस्तै पर्यटकको सबैभन्दा ठूलो समस्या भ्याट रहेको शेर्पा बताउँछन् । विश्वका सबैजसो देशहरुमा पर्यटकहरुलाई भ्याट छुट हुन्छ । तर, हाम्रो देशमा पर्यटकलाई पूरै भ्याट लगाउने सिस्टम छ । यो समस्या तत्काल पर्यटनमन्त्रीले बुझेर समाधान गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ ।

पर्यटकलाई भ्याट छुट गर्दा सर्वसाधारण जनतालाई समेत फाइदा हुने व्यवसायी शेर्पाले बताए । ‘पर्यटक भनेको विश्वकै जुनसुकै देशमा पनि भ्याट छुट हुन्छ । तर, हाम्रो देशमा भ्याट लिइन्छ । यसले नराम्रो सन्देश गइरहेको छ । तत्काल समाधान गर्नुपर्ने आवश्यक छ,’ शेर्पा भन्छन् ।

 

प्रतिक्रिया