हिमपातसँगै हवाई सेवा प्रभावित


डोल्पा – हिमाली जिल्ला डोल्पामा भारी वर्षासंगै हिमपात भएको छ । बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो । जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु, पहाडा, बन्तडीलगायत बस्ती हिउँले सेताम्य भएको छ । त्यसैगरी तल्लो डोल्पामा पर्ने ठूलीभेरी नगरपालिका, काइके, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्ने अधिकांश क्षेत्र हिउँले ढाकिएका छन् ।

उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकामा पनि बाग्लो हिँउ जमेको छ । हिमपातका कारण उपल्लो डोल्पाको जनजीवन कष्टकर भएको शे–फोक्सुण्डो गाउँपालिकाका वडाध्यक्ष निमा लामाले बताएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भएकाले पनि उपल्लो डोल्लामा कात्तिक अन्तिमदेखि नै हिउँ पर्न शुरु भएको र आजसम्म दर्जन धेरै पटक हिमपात भइसकेको उनको भनाइ छ । हिँउदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्गल हिउँले सेताम्य र मनमोहक देखिएका छन् ।

मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपात हुने सम्भावना देखिएको छ । हिमाली जिल्लामा प्रत्येक वर्ष जलवायु परिवर्तनका असर बढ्न थालेको बताइएको छ । हिमाली जिल्लामा आठ दश वर्षअघिसम्म हिउँदको दुई महिनामै सात–आठ पटक हिउँ पर्ने भए पनि अहिले एक पटक पनि मुस्किलले हिँउ पर्ने गरेको छ । हिमालमा हिउँ नपर्नु, तालतलैया नदीनालाका सतह घट्नु, हिमाल सुक्खा र नाङ्गा देखिनु जलवायु परिवर्तनको असर भएको देखिएको छ ।

त्यस्तै लामो समयपछि परेको हिमपातका कारण डोल्पाली कृषक उत्साहित भएका छन् । हिउँले ढपक्क हुनुपर्ने हिउँदकै समयमा वर्षात् र हिमपात नभएर खेतबारीमा लगाएको अन्नबाली सुक्न थालेपछि वर्षभरी कसरी गुजारा गर्ने भनेर कृषक चिन्तित भएका थिए ।

अग्ला गाउँबस्तीमा हिमपात र अली होचा गाउँबस्तीमा वर्षात् भएपछि जिल्लाभरिका कृषक खुशी हुनुका साथै अन्नबालीका लागि सुविकाल शुरु भएको बताए । जिल्लाभरि नै बिहीबार रातिदेखि शुरु भएको वर्षासंगै भएको हिमपातका कारण आलु, गहुँ, जाैँ, उवालगायत अन्नबाली सप्रिनुका साथै उत्पादनमा समेत वृद्धि हुने आशा गरिएको कृषकहरु बताउछन् ।

यसपटक परेको वर्षासंगै भएको हिमपातले कृषक मात्र नभई यार्सा सङ्कलक पनि उत्साहित भएका छन् । बहमूल्य जडीबुटी यार्सागुम्बाका लागि अत्यधिक चिसो आवश्यकपर्ने भएकाले भारी हिमपात र वर्षात्ले यार्सागुम्बाको परिमाणसँगै गुणस्तरमा समेत वृद्धि हुने स्थानीय सङ्कलकको भनाइ छ ।जिल्लावासीको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको यार्सागुम्बा अघिल्लो वर्ष कोरोना भाइरसका कारण जिल्लाभरी नै सङ्कलनमा प्रतिबन्ध लगाइएको थियो । प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार अन्तिमसँग यार्सागुम्बा सङ्कलन गरिन्छ ।

हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध भएको छ । धावनमार्गमा बाग्लो हिउँ जमेका कारण बिहीबार सम्पूर्ण उडानहरु रद्द भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ । काठमाडौँ र नेपालगञ्जदेखि कुनै पनि उडान हुन नसकेको प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया