

लुम्बिनीमा आठ दलको संयुक्त प्रशिक्षण

दाङ – आठ दलले प्रदेश सांसदहरूलाई प्रशिक्षण दिएका छन्। फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनको विषयलाई केन्द्रित गरेर लुम्बिनीमा प्रदेश सभा सदस्यहरूलाई प्रशिक्षण गरिएको हो। लुम्बिनीको राजधानी राप्ती उपत्यका क्षेत्रमा आठ दलका केन्द्रित नेताहरूको सहभागितामा प्रदेश सांसदहरूलाई पछिल्लो सत्ता समिकरणका विषयमा पनि जानकारी गराइएको छ।
जहाँ मत बदर हुन नदिनेदेखि २३ गते नै काठमाडौं पुग्न निर्देशन दिइएको छ। एनजीओ, आइएनजिओका नाममा सांसदलाई अल्मल्याउन खोजिएको भन्दै यस्ता उल्झनमा नपर्न समेत सचेत गराइएको छ। ‘निर्देशन अनुसार प्रदेश सभा सदस्यहरू २३ गते नै काठमाडौं पुगिसक्नु पर्नेछ। नागरिकता वा मतदाता परिचयपत्र अनिवार्य साथमा राखेर काठमाडौं पुग्न निर्देशन दिइएको छ।
गोप्य मतदान भएपनि कसैको प्रलोभनमा नपर्न समेत सांसदहरूलाई भनिएको छ। यसका अतिरिक्त मत बदर हुन नदिन सही तरिकाले मतदान गर्न भनिएको छ। मतपत्रमा यसपालि स्वस्तिक छापले संकेत गर्नुपर्ने छ। अहिले त उम्मेदवारको फोटो पनि भएकाले मत संकेत गर्न सहज हुने जानकारी दिइएको छ।
राष्ट्रपति निर्वाचन यही फागुन २५ गते हुँदै छ। फागुन २५ मा तेस्रो कार्यकालका लागि राष्ट्रपति चयन गर्नेछ। आठ राजनीतिक दलबाट कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङ राष्टपतिको उम्मेदवार बनेका छन्।
अभिमुखीकरणमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टीका सांसदहरूको सहभागिता थियो। लुम्बिनी प्रदेश ८७ सदस्यीय छ। जसमा ५४ सासद कार्यक्रममा सहभागी थिए।

