

अहिलेको गठबन्धनमा राष्ट्रपतिको निर्वाचनबारे मात्रै सहमति : नेता भण्डारी

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारीले आठ दलीय गठबन्धनमा राष्ट्रपतिको उम्मेदवारको विषयमा मात्र सहमति भएको स्पष्ट गरेका छन्।
जनकपुरधाममा आठ दलीय सत्ता गठबन्धनको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले राष्ट्रपतिको निर्वाचनलाई लिएर मात्रै अहिले सहमति भएको स्पष्ट गरेका हुन्।
कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का नेता हरिनारायण यादवले उपराष्ट्रपति जसपाले पाउनुपर्ने बताएपछि आठ दलीय गठबन्धन अहिले राष्ट्रपतिको निर्वाचनमा मात्रै केन्द्रित रहेको भण्डारीले बताए।
अहिले हामी राष्ट्रपतिमा हाम्रो गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउने गृहकार्यमा लागेका छौँ, भण्डारीले भने ‘अहिले राष्ट्रपतिका विषयमा मात्रै सहमति भएको छ, बाँकी विषयमा पछि सहमति हुँदै जाला।’
बाहिर सञ्चारमाध्यममा उपराष्ट्रपति, संघको खाली मन्त्रालयहरू, प्रदेश सरकारको विषयमा अहिले गठबन्धनभित्र कुनै किसिमको छलफल नभएको उनले बताए। भण्डारीले यो गठबन्धन सरकार बनाउन वा राष्ट्रपति निर्वाचनसम्मका लागि मात्रै नभई संविधानबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नका लागि समेत बनेको बताए।

