

सेनाद्वारा थुनिएका दुई कर्णेललाई उपस्थित गराउन सर्वोच्चको आदेश
नेपाली सेनासँग लिखित जवाफ समेत माग

काठमाडौं – आर्थिक अनियमिततामा संलग्नता देखिएको भन्दै नेपाली सेनाले नियन्त्रणमा लिएका दुई कर्णेललाई सर्वोच्च अदालतले उपस्थित गराउन आदेश दिएको छ ।
न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई तीन दिनभित्र सर्वोच्चमा उपस्थित गराउन बुधबार आदेश दिएको हो । सर्वोच्चले नेपाली सेनासँग लिखित जवाफ समेत माग गरेको छ ।
उपरथी प्रेम शाहीसँगको प्रकरण आर्थिक अनियमिततामा संलग्नता देखिएको आरोपमा नेपाली सेनाले उनीहरुलाई सैनिक प्रहरीको हिरासतमा राखेको थियो । दुवै जनाको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले बुधबार आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन सेनालाई आदेश दिएको हो । सैनिक मुख्यालय जंगीअड्डाले भने थुनामा राखेको अस्वीकार गरिरहेको छ । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले सोधपुछ मात्रै भइरहेको दाबी गरेका छन् ।
नेपाली सेनाका उपरथी प्रेम शाहीमाथि आर्थिक अनियमितताको आरोपमा अनुसन्धान गर्न कोर्टअफ इन्क्वेरी गठन भएको थियो । अनुसन्धानका क्रममा आर्थिक अनियकितता भएको पाइएको र यी दुई कर्णेलको पनि संलग्नता देखिएको निष्कर्षसहित प्रतिवेदन पेश भएको थियो । सोही प्रतिवेदनका आधारमा कोर्टमार्सल (सैनिक अदालत) गठन गरेर अदालती प्रक्रिया अगाडि बढाइएको छ । यस्तै अनियमिततामा संलग्न भनिएका दुई कर्णेललाई पनि नियन्त्रणमा राखिएको छ ।
उपरथी शाही भने यसअघिदेखि नै हिरासतमा छन् । सर्वोच्चकै आदेश अनुसार सैनिक मुख्यालय फर्किएका उनलाई सेनाले फर्किएकै दिन पक्राउ गरेर थुनामा राखेको छ ।

