चाबहिल जाउ न भनेर चढेका यात्रुले पेट्रोल खन्याएर ट्याक्सीमा आगो लगाए : कुम्भनारायण श्रेष्ठ


काठमाडौं – एकाविहानै समाखुसीमा एउटा ट्याक्सी जल्यो । प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी हेर्दाहेर्दै जल्यो । साहुको ट्याक्सी लिएर निस्केका थिए ट्याक्सी चालक कुम्भनारायण श्रेष्ठ । एक दशकदेखि उपत्यकामा ट्याक्सी चलाइरहेका ४१ वर्षीय श्रेष्ठलाई राजनीतिक घटनाक्रमप्रति कुनै चासो थिएन ।

सदाझै बिहीबार पनि एकाबिहानै उनी ट्याक्सी लिएर सडकमा निस्किए । थापाथलीबाट यात्रु बोकेर सोह्रखुट्टे पुगे । त्यहीँबाट यात्रु लिएर सामाखुशी पुगे । सामुखशीबाट फर्किनै लाग्दा एकजना व्यक्तिले चाबहिल जाउँ भने । बिहान मजाले उज्यालो पनि नभइसकेको अवस्थामा उनले ती व्यक्तिलाई राम्रोसँग हेर्न पनि पाएका थिएनन् ।

ती व्यक्तिले चाबहिलको कति लिने भनेर सोध्ने वित्तिकै उनले ‘मिटरमा जाउ न’ भनेर जवाफ फर्काएका थिए । सिटबेल्ट बाँधेर उनी स्टेरिङमा मात्रै के बसेका थिए, नसोचेको दृश्य देख्नु पर्‍यो । पछाडि राखिएको चकटीमा आगो दन्किरहेको थियो । उनलाई के गरौं, कसो गरौं भयो ।

‘आत्तिँदै चकटी फ्याकेँ तर, अघि चाबहिल जान्छु भन्नेसँगै आएका व्यक्तिले पेट्रोल खन्याइसकेका रहेछ, निभाउन सम्भव भएन’, श्रेष्ठ भन्छन् । उनका अनुसार आफ्नो गरिखाने ट्याक्सीमा आगो बलिरहँदा हेरिरहन शिवाय केही गर्न सकेनन् ।

‘अहिलेसम्म मैले जानेकै यही ट्याक्सी चलाउन हो, यो पनि जलेपछि साहुले के भन्लान्, एक्दमै चिन्तामा छु’, उनले भने । यद्यपि, सम्बन्धित निकायले क्षतिपूर्ति दिन्छ कि भन्ने आश रहेको उनले सुनाए । ‘म तत्कालै ननिस्किएको भए, आफैंलाई पनि समस्या हुने रहेछ । धन्न ज्यानचाहिँ जोगियो’, श्रेष्ठले भनेका छन् ।

प्रतिक्रिया