जनताप्रति इमान्दारीता र निष्ठापूर्वक कार्यसम्पादन गर्न निर्देशन


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेम कुमार राईले जनताप्रति इमान्दारीता र निष्ठापूर्वक कार्यसम्पादन गर्न निर्देशन दिएका छन्। पदबहालीपछि आयोगका कर्मचारीहरूलाई निर्देशन दिदै उनले आयोगको साँखलाई अझ उचाईमा पुर्याउन चुनौती पार गर्दै साझा जिम्मेवारी वहन गर्नुपर्ने बताए।

विगतमा आयोग तथा सार्वजनिक प्रशासनअन्तर्गत बिभिन्न निकायहरूमा कार्य गर्दाको अनुभवबाट नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न सक्ने कुरा ब्यक्त गर्दै उनले आम नेपाली जनता र नागरिक समाजको आयोग प्रतिको आकांक्षा, विश्वास र भरोसा उच्च रहेकोले आगामी दिनमा उक्त चाहना एवं भावना बमोजिम काम गर्ने चुनौती आयोगमा रहेको बताए।

निर्देशनकै क्रममा प्रमुख आयुक्त राईले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने, आगामी दिनमा आयोगमा कार्यरत जनशक्तिको क्षमता विकास र उत्प्रेरणा अभिवृद्धि गर्ने तथा आयोगलाई नँया उचाईमा पुर्याउने विषयमा आफू सँधै क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा आयोगका आयुक्त डा. सावित्री थापा गुरुङले नवनियुक्त प्रमुख आयुक्त र आयुक्तहरूलाई आयोगमा स्वागत गर्दै आयोग पूर्ण समावेशी भएको र आगामी दिनमा आयोगआफ्नो कार्यक्षेत्रमा अझ प्रभावकारी हुने विश्वास ब्यक्त गरेकी थिईन ।

कार्यक्रममा आयोगका सचिव सुरेश अधिकारीले आयोगको संक्षिप्त परिचय सहित आयोगको कार्यक्षेत्र, संरचना, जनशक्ति, वर्तमान चुनौती र भविष्यको जिम्मेवारीको वारेमा प्रकाश पारेको आयोका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए।

प्रतिक्रिया