डिएसपी चढ्ने गाडी जलाइयो, संगठन माथि नै प्रश्न ?


देशकै राजधानी काठमाडौं । शान्ति सुरक्षाको दृष्टिकोणले सबैभन्दा सुरक्षित ठाउँ । तर, मूर्खको औषधि हुँदैन भनेझैँ अपराधिक मानसिकता भएकाहरुले नेपाल प्रहरीलाई झुक्याउँदै कडा शान्ति सुरक्षालाई पनि चुनौती दिन पछि पर्दैनन् ।

सोमबार त्यस्तै भयो । सयौंको संख्यामा बालाजु-माछापोखरी क्षेत्रमा प्रहरी परिचालन हुँदा पनि प्रदर्शनकारीहरुले प्रहरीकै अगाडि २ वटा भ्यान जलाए । यसले नेपाल प्रहरीमाथि नै गम्भीर प्रश्न उब्जिएको छ ।

प्रहरीकै अगाडि प्रदर्शनकारीले २/२ वटा भ्यान जलाउदा प्रहरी वृत्त बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन बिष्ट घटनास्थलमै थिए । उनलाई ब्याक सपोर्टको लागि जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली समेत खटिएको थियो ।

तर, उनीहरुकै अगाडि प्रदर्शनकारीले प्रहरीकै भ्यान जलाएर प्रदर्शनलाई उग्र बनाइदिए । प्रहरी जतिबेला मुखदर्शक जस्तै बनेर बसेको प्रत्यक्षदर्शी बताउँछन् । शान्ती सुरक्षामा खटिएका प्रहरीले समेत आफ्नो जिउधनको रक्षा गर्न नसकेपछि चर्को आलोचना भएको छ ।

सोही भिडमा भेटिएका समिर श्रेष्ठ भन्छन्, ‘प्रहरीले आफ्नो जिउधनको रक्षा गर्न नसक्नु दु:खद कुरा हो । १/१ बर्षसम्म ट्रेनिङ दिइएको कस्तो समयमा प्रयोग गर्ने हो ?  त्यतिबेला प्रहरी क हेरेर बस्यो गम्भिर प्रश्न उब्जिएको छ ।’

झडपमा प्रहरी वृत्त बालाजुका डिएसपी विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कर्पियो (पिकअप) भ्यान यातायात मजदुरले जलाएका हुन् । प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जलाएका छन् ।

आन्दोलनरत यातायात मजदुरहरुले माछापोखरीको अस्थायी प्रहरी बिटमा समेत आगजनी गरेका छन् । भ्यान जलाएको केहि समयपछि प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन् ।

आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् । दिउँसो एक बजेदेखि नै आन्दोलन चर्किएको थियो ।

तर, प्रहरीले रमिता मात्र हेरेर बस्यो । उग्र बनेका आन्दोलनकारीहरुसँग बोलेर कुरा मिलाउन खोज्दा आफ्नो गाडी र बिट जलेको पत्तै पाएन । जतिबेला फिल्डमा खटिएका प्रहरीलाई लाठी चार्जदेखि अश्रुग्याँस प्रहार नगर्न परिसरबाट निर्देशन दिइएको थियो ।

उपत्यकामा कार्यरत एक प्रहरी अधिकृतका अनुसार सो समयमा  माथिबाट गोली हान्नदेखि लाठीचार्ज समेत गर्न निर्देशन दिइएको थिएन । जसले गर्दा गाडी जलाउने र बिटमा आगजनी गर्ने स्थिति उत्पन्न भएको ती अधिकृत बताउँछन् ।

२ दिनअघि ट्रमा सेन्टरको घटनाले तर्सिएको प्रहरीले संयमितता अपनाउन खोज्दा झनै ठुलो क्षति ब्यहोर्न पुग्यो । जतिबेला प्रहरीले ट्रमा सेन्टरका चिकित्सक कुटेको भनेर घटना बाहिर आएपछि प्रहरीको चर्को आलोचना भएको थियो ।

त्यहि डरले आज प्रहरी संयमित भएर बस्न खोजेको थियो । बोलेर कुरा मिलाउन लागिपरेको थियो । तर, नसोचेको घटना भयो । जसले गर्दा प्रहरी संगठन माथी नै  प्रश्न तेर्सिएको छ । काठमाडौं जस्तो ठाउँमा अपराध बढिरहने र प्रहरी मौन बस्ने हो भने अन्य सर्वसाधारणले कसरी आफ्नो रक्षा गर्ने ?

यातायात व्यवसायी तथा मजदुरहरूले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गर्दा भएको दोहरो झडप उग्र बन्दै गएको हो ।

प्रतिक्रिया