


हिरासतको पर्खाल प्वाल पारेर भाग्ने थप एक पक्राउ, अझै २ जना फरार

धनुषा – धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थुनुवा कक्षको पर्खाल भत्काएर भागेका ६ जना अभियुक्त मध्ये थप १ जना पक्राउ परेका छन् । यससँगै भागेका जम्मा ४ जना अभियुक्त पक्राउ परिसकेका छन् । यसअघि २ जना हिजो (बुधबार) र एकजना मंगलबार नै पक्राउ परिसकेका थिए ।
पछिल्लो पटक पक्राउ पर्नेमा लागु औषध मुद्दाका अभियुक्त छिरेश्वरनाथ नगरपालिका ५ का विनोद कुमार शर्मा रहेका छन् । उनलाई जिल्लाको मथिला नगरपालिका १० लालगढको रातो खोलाको बगर छेउमा लुकीछिपी बसिरहेको अवस्थामा बुधबार राति १ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
यसअघि मिथिला २ का २५ वर्षीय हरिदीप सिंह, सोही मुद्दाका अभियुक्त छिरेश्वरनाथ नगरपालिका २ का अमित मण्डल र रोशनकुमार महतो पक्राउ परेका थिए ।
फरार मध्ये अझै २ जनाको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

