

प्रहरीका सहायक हवल्दार नै लागूऔषध कारोबारी !

विराटनगर — लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिले नाम लिएपछि नेपाल प्रहरीमा कार्यरत सहायक हवल्दार पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो १२० मिलिग्राम खैरो हेरोइनसहित विराटनगर महानगरपालिका–१५ का २० वर्षीय नजाम खानलाई पक्राउ गरेको थियो । खानले नाम लिएपछि प्रहरीले सहायक हवल्दार अमरनाथ यादवलाई पक्राउ गरेको हो ।
भारतको जोगवनीबाट लागूऔषध ओसारपसार गर्न भरियाको प्रयोग गरेको आरोपमा विराटनगर महानगरपालिका–१४ मा बस्दै आएका सहायक हवल्दार यादव पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा खानले यादवले जोगवनीबाट लागूऔषध ल्याउन लगाएको बयान दिएका थिए । त्यसपछि उनी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिले नाम लिएपछि प्रहरी सहायक हवल्दार यादवमाथि माथि अनुसन्धान भइरहेको बताए ।

