
बढी ऋण प्रवाह गरेको आरोपमा बैंकका सिइओसहित चार पक्राउ
काठमाडौं – कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित चार जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको विशेष टोलीले कामना सेवा विकास बैंकका सिइओ प्रवीण बस्नेतसहित चार जनालाई पक्राउ गरेको डिएसपी दीलिप गिरीले अनलाइनन्यूज७सँग बताए । बस्नेतलाई आइतबार नियन्त्रणामा लिइएको पनि डिएसपी गिरीले बताए ।
बस्नेतसँगै हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो। हरेन्द्र दाहाल र चन्द्रबहादुर थापा ऋणी हुन्। वीरेन्द्र सोही बैंकका पूर्वकर्मचारी रहेको समेत खुलेको छ ।
डिएसपी गिरीका अनुसार उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरेको हो। प्रहरीले जिल्ला अदालत झापाबाट म्याद थप गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ।
उनीहरूले बैंकबाट ऋण दिँदा थोरै धितो राखेको र राखेको धितो पनि भए/नभएको नखुलेपछि अनुसन्धान अघि बढेको थियो। ऋणीले जग्गा र उनीहरूले गरेको व्यवसाय नै धितोको रूपमा राखेका थिए।
नेपाल राष्ट्र बैंकबाट केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धानका लागि पत्र लेखेपछि ब्युरोले प्रारम्भिक रूपमा अनुसन्धान गरेर दमक शाखाको घटना भएकाले थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालयमा पठाएको थियो। अनुसन्धानपछि सिइओसमेत ऋणी पक्राउ परेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
