

वृद्धाभत्ता नदिएको भन्दै छोराले गरे बन्चरोले हानेर आमाको हत्या

धनगढी – कैलालीमा बन्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ४० वर्षीया श्रीराम थारुले आमालाई बन्चरो प्रहार गरेर आफ्नै आमाको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थारुले मंगलवार राति ७१ वर्षीया (आमा) लगनी थरुनीलाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन्।
बन्चरो प्रहारबाट गम्भीर घाइते भएपछि थरुनीलाई उपचारका लागि लम्कीको लालरत्न अस्पताल लगिएको थियो। तर, लम्कीमा उपचार सम्भव नभएपछि उनलाई धनगढी ल्याइएकोमा उनको धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको बताइएको छ।
उता, इलाका प्रहरी कार्यालय लम्कीले हत्या आरोपित थारुलाई पक्राउ गरेको जनाएको छ। उनलाई मंगलवार बिहान नै जंगलबाट पक्राउ गरिएको हो। श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ। हत्याको प्रारम्भिक अनुसन्धानबाट आमा (लगनी) ले वृद्धभत्ताको पैसा नदिएपछि आरोपित थारुले बन्चरोले ढाड र खुट्टामा प्रहार गरेर हत्या गरेको प्रहरीको भनाइ छ।

