वृद्धा बिरामीलाई कुटेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ


काठमाडौं – अष्ट्रेलियामा बसोबास गर्ने एक नेपाली नर्स पक्राउ परेकी छन्। एक वृद्धा बिरामीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अस्मिता पाण्डेलाई पक्राउ गरेको हो।

‘वर्किङ भिसा’मा अष्ट्रेलिया पुगेका अस्मिताले इपिङस्थित एस्टिया हेल्थमा भर्ना भएकी एक वृद्धालाई थप्पड हानेको अष्ट्रेलियन मिडियाहरूले जनाएका छन्।

अस्मिताले ९५ वर्षीया जोन मुर्रेमाथि कुटपिट गरेको बताइएको छ। कुटपिटपछि उनका सहकर्मीहरूले नै प्रहरीलाई खबर गरेको नाइनन्युजको समाचारमा उल्लेख छ।

अस्मितलाई जेलसम्मको सजाय हुनसक्ने त्यहाँका अधिकारीहरूले बताएका छन्। एस्टिया हेल्थका प्रमुख कार्यकारी अधिकृत सीन बिल्टनले माफी माग्दै कुनै पनि प्रकारको दुर्व्यवहार आक्षम्य हुने बताएका छन्। उनले आफ्ना नागरिकहरूको सुरक्षा र कल्याण पहिलो प्राथमिकता रहेको नाइनन्युजलाई बताएका छन्।

हालः गर्भवती रहेकी अस्मितालाई अष्ट्रेलियामा स्वास्थ्य क्षेत्रमा काम गर्न बन्देज लगाइएको छ। उनको मुद्दाको अन्तिम सुनुवाई मार्चमा हुने बताइएको छ।

प्रतिक्रिया