१० वर्षदेखि फरारको सूचीमा सांसद चौधरी


कैलाली – कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी फरार सूचीमा रहेको खुलेको छ ।

कैलाली जिल्ला अदालतले ट्याक्टर जलाएको मुद्दामा करिब १० वर्ष पहिले चौधरीलाई ६ महिना कैद फैसला सुनाएको थियो।

अदालतको उक्त फैसला अनुसार कैद सजाय भुक्तान नगरेका चौधरी अहिले प्रतिनिधि सभा सदस्य छन् ।

प्रतिनिधिसभा सदस्य रहेको अरुण चौधरीसहित पर्शराम चौधरी र वीर बहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

२०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा तत्कालीन बलिया गाविस ५ का महादेव बजगाईँले मुद्दा दायर गरेका थिए ।

त्यसको केही वर्ष पछि जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले तीनै जनालाई जनही छ महिना कैद र बिगो रकम असुल्न गर्न आदेश दिएका थिए ।

सोही घटनामा प्रहरीले शुक्रवार वीरबहादुर चौधरीलाई पक्राउ गरे पनि सांसद चौधरी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

वीरबहादुर चौधरीले मुलुकी फौजदारी सम्झौता २०७४ को दफा १५५ बमोजिम नगद रुपैयाँ दाखिला गरी कैद मुक्त गरिपाऊ भन्दै दिएको निवेदनमा अस्विकार गर्दै अदालतले ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो ।

२०७४ मा लम्कीचुहाको मेयर र प्रदेश सभा सदस्यमा पराजित चौधरी २०७९ को चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।

प्रतिक्रिया