

मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री यादवले गरे पदभार ग्रहण

जनकपुरधाम – मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री संजय यादवले पदभार ग्रहण गरेका छन्। बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेका मन्त्री यादवले आइतबार दिउँसो पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै अर्थमन्त्री यादवले प्रदेश सरकारको राजश्वलाई वृद्धि गर्नका लागि कार्ययोजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिएका छन्।
उनले बजेटमा भएका प्रावधान अनुसार चालू खर्चलाई मितव्ययी बनाउँदै कटौति गर्ने र पुँजीगत खर्चलाई अभिवृद्धि गर्ने सम्बन्धमा पनि कार्ययोजना बनाउन निर्देशन दिएको अर्थसचिव गजेन्द्र ठाकुरले बताए।
यसअघि नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले शुक्रबार नै पदभार ग्रहण गरिसकेका छन्। गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका सरोजकुमार यादवले पुस २९ गते विनाविभागीय मन्त्रीहरुसँगै शपथ लिएका थिए।

