


जनकपुरका दुई युवाको भारतमा अपहरणपछि हत्या, पाँचजना पक्राउ

जनकपुरधाम – जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।
उनका अनुसार भारतीय प्रहरीले पनि घटनामा संलग्न भएको आशंकामा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ निवासी २२ वर्षीय विष्णु साहको हत्या भएको हो।
मृतक दुवैजना एकै परिवारका हुन्। रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए। गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको थियो। सुरुमा २० लाख मागेको अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरूले बताएका छन्।
विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए। अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको उनले बताए।
प्रहरी नायव उपरीक्षक क्षेत्रीले भने, ‘शंकास्पद व्यक्ति दुईजनालाई नियन्त्रणमा लिएका छौँ । इन्डिया प्रहरीले पनि तीनजना नियन्त्रणमा लिएको छ । प्रहरीको अनुसन्धानबाट आज बिहान २ बजे दुईवटा शव ल्याइएको खबर आएको थियो । शव आफ्नो बच्चाहरूको भएको भनीसक्नु भएको अवस्था छ । दुवैतर्फको टोलीले अनुसन्धान गरिरहेका छाैँ । संलग्न भएको आशंकामा केसमा किसानकुमार पण्डित र मुकेश पासवान नियन्त्रणमा हुनुहुन्छ । केही व्यक्ति अझ फरार भएको भन्ने छ। खोजतलास जारी छ । शव गाडिएको अवस्थामा फेला परेकाले भारतमा नै पोस्टमार्टम हुन्छ ।’

