

सेनाका बख्तरबन्धले गएराती गर्याे चक्रपथ परिक्रमा, भोलि काठमाडौंबाट पाँचखालसम्म पुग्ने

काठमाडौं । सोमबार मध्यरातमा नेपाली सेनाले काठमाडौँको सडकमा बख्तरबन्द परेड निकालेको छ। १० युद्ध कवज गण स्वयम्भूबाट हातहतियारले सुसज्जित बख्तरबन्द गाडीसहित सडकमा नेपाली सेनाले परेड निकालेको हो।
सैनिक प्रवक्ता तथा सहायकरथी सन्तोषबल्लभ पौडेलले नियमित अभ्यास योजना अनुसार सोमबार राति सेनाको गाडीले चक्रपथको चक्कर लगाएको बताएका छन्। सेनाका अनुसार राति बख्तरबन्द गाडीहरुले काठमाडौँ चक्रपथको एक चक्कर लगाएको हो।
बुधबार पनि देशका बिभिन्न स्थानमा बख्तरबन्ध गाडीको अभ्यास गर्ने भएको छ ।
प्रवक्ता पौडेलकाअनुसार देशभर रहेका ८ वटा पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गरिने छ । यसैक्रममा बुधबार दिउँसो काठमाडौंबाट काभ्रेको पाँचखालसम्म बख्तरबन्ध गाडीको अभ्यास हुने उनले बताए ।
सेनाको युद्ध कवच गणको अगुवाइमा यो अभ्यास गर्न लागिएको हो । नेपाली सेनाले लामो समयदेखि बख्तरबन्ध गाडी सडकमा निकालेको थिएन । तर एक्कासी माघ १९ गतेको राति काठमाडौंको चक्रपथमा बख्तरबन्ध गाडीको लस्कर देखेपछि चासो र चर्चा सुरु भएको छ ।
नेपाली सेनाका प्रवक्ता पौडेलले भने यसलाई नियमित अभ्यास भनेका छन् । तर कतिपयले भने प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्ध गाडीको अभ्यास गर्नु अर्थपूर्ण भएको बताएका छन् ।

