व्यवसायीलाई धम्क्याएर रकम असुली गर्ने दुईजना बुटवलबाट पक्राउ


बुटवल – इलाका प्रहरी कार्यालय बुटवलले व्यवसायीलाई धम्क्याएर रकम असुली गर्ने दुईजनालाई हतियारसहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालयका प्रमुख दान बहादुर थापाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले बुटवलको देवीनगरबाट दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई शंका लागी चेकचाँच गर्दा विभिन्न हात हतियारसहित पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेमा गुल्मी मालिका गाउँपालिका–४ अर्खावाङ बस्ने ३५ वर्षीय नविन चन्द्र रेग्मी र कन्चनपुर गणेशपुर नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले ‘रोयल ग्रुप नामक समूह बनाई विभिन्न व्यवसायीहरुलाई धाकधम्की दिएर असुली गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए ।

अनुसन्धानको क्रममा सैनामैना नगरपालिका–१ पर्रोहास्थित नविनको कोठामा तलासी गर्दा ९ एमएमको गोली १४ राउण्ड,७.२ एमएमको गोली ४ राउण्ड ३५ राउण्ड र ०.२ एमएमको गोली १७ राउण्ड,तयारी डेटोनेटर ३ थान, डेटोनेटर केस ६० थान, डेटकर्ड ४ मिटर समेत फेला पारेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए।

उनीहरुलाई म्याद थप गरि हात हतियार तथा विष्फोटक पदार्थ सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया