

तनहुँमा खुकुरी प्रहार गरी एकको हत्या
तनहुँ – तनहुँमा सोमबार दिउँसो खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या भएको छ। भानु नगरपालिका– ६ टुहुरेपसलमा ४९ वर्षीय सन्तबहादुर गुरुङकाे खुकुरी प्रहार गरी हत्या गरिएको हो।
व्यास नगरपालिका-८ रिस्तीका २४ वर्षीय आशिष परियारले गुरुङको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
खड्काका अनुसार गुरुङ रिटायर्ड सेना हुन्। उनले घरबाहिर खुकुरी र तरबार सजाएर राखेका थिए। सोही समयमा ती युवक आएर उनको खुकुरी लिएर भागेको र आफ्नो खुकुरी किन लगेको भन्दै पछिपछि लागेका गुरुङमाथि उल्टै खुकुरी प्रहार गरेको उपरीक्षक खड्काले बताए।
डुम्रे-चन्द्रावतीभित्री सडकखण्डमा उक्त घटना भएको हो। प्रहरीले परियारलाई हतियारसहित नियन्त्रणमा लिएको छ।

