


अर्काको नाममा ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक जना बिहीबार पक्राउ परेका छन्।
ट्राफिक प्रहरी वृत्त कमलपोखरीबाट प्रहरी निरीक्षक सागर घलेको कमाण्डमा खटिएको टोलीले काठमाडौंको बौद्ध दक्षिणढोकास्थित नेपाल ड्राइभिङ ट्रायल सेन्टरबाट हुम्ला घर भई हाल काठमाडौंको मण्डिखाटार बस्ने २२ वर्षीय महेश शाहीलाई पक्राउ गरेको हो।
हुम्लाकै २४ वर्षीय पवनकुमार शाहीको नाममा दुईपाङग्रे सवारी साधनको ट्रायल दिँदै गरेको अवस्थामा महेशलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।
अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृतिलाई रोक्नका लागि विशेष कडाई गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।

