मधेस प्रदेशमा आठ जिल्लाका सुरक्षा निकायलाई माेटरसाइकल हस्तान्तरण


धनुषा – मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले प्रदेशका आठ जिल्लामा रहेका सुरक्षा निकायहरूलाई २४ थान मोटरसाइकल आज मङ्गलवार हस्तान्तरण गरेको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षको ६४ लाख रुपैयाँ बजेटमा खरिद गरेका मोटरसाइकल नेपाल प्रहरीका विभिन्न जिल्लाका प्रहरी चौकी, सशस्त्र प्रहरीका विभिन्न पोस्ट तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई माेटरसाइकल हस्तान्तरण गरेकाे हाे । प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले माेटरसाइकल हस्तान्तरण गरे ।

मोटरसाइकल हस्तान्तरण गर्दै मन्त्री साहले शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा शहीद परिवार एवम् घाइतेहरूलाई राहतसहितको काम मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । प्रदेशका गृह तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्णले माेटरसाइकलकाे सहायतामा प्रहरीले शान्ति सुरक्षा तथा नागरिककाे रक्षा गर्न सहयाेग पुग्ने बताए ।

यस्तै प्रदेशका गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो, मटिहानी नगरपालिकाका मेयर हरि मण्डल, प्रहरी नायब महानिरीक्षक मसाउद खान, सशस्त्रका नायब महानिरीक्षक गणेश ठारा मगरले मन्त्रालयबाट प्राप्त भएको माेटरसाइकलले प्रहरीलाई गस्ती गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया