वालिङबाट भागेका बलात्कार आरोपित पक्राउ


स्याङ्जा – स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङबाट भागेका एक जना बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका हरिनास गाउँपालिका ७ का २४ वर्षीय रमेश क्षेत्री गएको सोमवार प्रहरीलाई नै लडाएर भागेका थिए ।

क्षेत्रीलाई वालिङ नगरपालिका वडा नम्बर ४ को जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) ढकेन्द्र खतिवडाले जानकारी दिए ।

जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका क्षेत्रीलाई जिल्ला अदालतबाट म्याद थप गरी वडा प्रहरी कार्यालय वालिङ लैजाने क्रममा कार्यालयको पर्खाल नाघेर भागेका थिए । क्षेत्रीलाई समात्ने क्रममा प्रहरी हवलदार वीरबहादुर सुनार लडेर घाइते भएका थिए ।

फरार भएका क्षेत्रीको खोजीका लागि प्रहरीले जिल्लाबाट बाहिर जाने सबै नाकामा कडाइ गरेको थियो । क्षेत्रीलाई स्याङ्जाकी एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुस ११ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया