गजुरीमा बस र माइक्रो ठोक्किँदा एक महिलाको मृत्यु, १५ जना घाइते


धादिङ – धादिङको गजुरीमा यात्रुबहाक बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो साढे १ बजे गजुरी गाउँपालिका–२ बिहानीपम्पस्थित पृथ्वी लोकमार्गमा काठमाडौंबाट बेसिशहर जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो र भैरहवाबाट काठमाडौं आउँदै गरेको गरेको लु २ ख २६४४ नम्बरको बस ठोक्किएका हुन्।

दुर्घटनामा माइक्रोमा सवार अन्दाजी २८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार ती महिलाको सनाखत भएको छैन। उनको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो। शव केन्द्रमै राखिएको छ।

यस्तै, माइक्रोमा सवार ११ जना र बसमा सवार चार जना गरी १५ जना घाइते छन्।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको बताएको छ।

प्रतिक्रिया