


कोरोना जितेका गौतमको सुतेकै अवस्थामा स्पेनमा निधन

बार्सिलोना – कास्की पोखरा महानगरपालिका वडा नं. १३ स्थायी घर भइ स्पेन बस्दै आएका मोतीराम गौतमको मृत्यु भएको छ।
क्याटालोनियाको लिदिया प्रान्तमा बस्दै आएका ५९ वर्षीय गौतम शुक्रबार साँझ आफू बसेकै अपार्टमेन्टमा मृत अवस्थामा भेटिएका हुन् ।
लिदिया प्रान्तमा बस्दै आएका अर्का एक नेपाली तर्कबहादुर बानियाँका अनुसार गौतम केही दिनअघि कोरोनाबाट संक्रमित भएका थिए। ‘उहाँ एक हप्ताअघि कोरोनाबाट संक्रमित भएर अस्पतालमा भर्ना हुनुभएको थियो। अस्पतालबाट घर फर्केपछि एकदिन हामीसँगै काममा पनि जानुभयो,’ बानियाँले भने, ‘तर शुक्रबार बिहानदेखि सम्पर्क गर्दा फोन समेत उठेन। खोजी गर्दा घरभित्र सोफा तल लडिरहेको अवस्थामा मृत भेटिनुभयो।’
बुधबार दिउँसो गौतमको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिने एनआरएनए स्पेनले जनाएको छ। पारिवारिक स्रोतका अनुसार गौतमको अन्तिम संस्कार बुधबार साँझ लिदियामा नै गरिने भएको छ ।
गौतम झन्डै डेढ दशकदेखि स्पेनमा बस्दै आएका थिए। दिवङ्गत गौतमका श्रीमती, एक छोरा र दुई छोरीहरु रहेका छन्।

