कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय


काठमाडौं – नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । आज आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले औपचारिक रुपमा नेतृत्व दाबी गर्दै सो निर्णय गरेको हो ।

मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा सबै भन्दा धेरै जनमत पाएर ठुलो दल बनेको कांग्रेसले प्रधानमन्त्रीको दाबी गरेको छ ।

तर सत्ता गठबन्धनको अर्को घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् । प्रचण्डले पहिलो पालोमा प्रधानमन्त्री हुने इच्छा राख्नु अनुचित नभएको कांग्रेसले बताएको छ ।

गठबन्धनको सरकारलाई निरन्तरता दिने कांग्रेसको लक्ष्य भएको बताउँदै यसअनुसार गठबन्धनको नेतृत्वसँग छलफल गर्ने र अन्य दलहरुसँग पनि परामर्श गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

आइतबारकै बैठकले दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा निर्वाचन समिति बनाएको छ । मंगलबार वा बुधबार दलको चुनाव हुनेछ ।

प्रतिक्रिया