एकै घरका तीनको त्रासदीपूर्ण मृत्यु : हत्या र आत्महत्या श्रृङ्खला


काठमाडौं : पश्चिम नवलपरासी सरावल गाउँपालिका ५ धनगडवामा एकै घरका तीन जनाकाे मृ्त्यु भएकाे छ। बुधवार राति करिब ९ बजेतिर स्थानीयले घरभित्र मानिस छटपटाइरहेको थाहा पाए। अनिता चौधरीको घरमा स्थानीय पुगे पनि। तर, घरको गेटमा भित्रबाट ताल्चा लगाइएको थियो। भित्र मानिस छटपटाइरहेको र चिच्याएको आवाज भने बन्द गेटले रोकिएको थिएन।

दुई छोरी र ३५ वर्षीय आमा अनिता छटपटाइरहेका थिए। घरको माथि छतबाट भित्र छिर्ने ढोका पनि बन्द गरिएको थियो। स्थानीय घरको ताल्चा फोडेर भित्र छिरे। भित्र छिरिसक्दा तीनै जनाको अवस्था गम्भीर थियो। उनीहरुले फिँज काटिरहेका थिए। राति नै उनीहरूलाई पृथ्वीचन्द्र अस्पताल परासी ल्याइयो। तर, उनीहरूको अवस्था गम्भीर भएकाले उपचार सम्भव भएन।

‘वान्ता गरेपछि हल्लाखल्ला भएछ। अनि छिमेकीले थाहा पाएर मलाई खबर गर्नुभएको थियो। मैले गाउँपालिकाको एम्बुलेन्स बोलाएँ। म पनि अस्पतालमा पुगेको थिएँ। तर राति नै उहाँको मृत्यु भयो,’ सरावल गाउँपालिका ५ का वडाध्यक्ष दिनेश केवटले भने।

त्यसपछि भैरहवा अस्पतालमा रिफर गरिएको थियो। तर त्यहाँ केही समयको उपचरापछि अनिताको मृत्यु भयो। राति नै उनको मृत्यु भएको अध्यक्ष केवटले बताए।

‘सबैभन्दा पहिले आमाको मृत्यु भयो। हामी राति अस्पतालमा नै थियौँ। त्यसपछि दुई वटी छोरीको मृत्यु भएको हो,’ अध्यक्ष केवटले भने।

१२ वर्षीय बालिका नेहा चौधरी र १० वर्षीय हेमा चौधरीको केही घण्टाको फरकमा मृत्यु भएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा तीनै जनाको मृत्युको कारण विष सेवन गरेर भएको देखिएको छ। प्रहरीले घटना स्थलबाट सेल्स नामको विष समेत फेला पारेको छ।

‘बेडरुमा बान्ता गरेको भेटियो। बान्तामा सेल्फसको चक्की समेत भेटिएको छ। त्यस्तै एउटा चिया खाने कपमा आधा घोलिएर राखिएको अवस्थामा विष भेटिएको हो,’ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी राजु लामाले भने।

घटनास्थलबाट भने विष सेवन गरी आत्महत्या गरेको कारण खुल्ने कुनै पनि प्रमाण फेला परेको छैन। उनीहरूले किन आत्महत्या गरे अनुत्तरित नै छ। अनिता दुई छोरीको साथको लालन पालन गरेर जीवन चलाइरहेकी थिइन्। श्रीमान् विदेशमा बसेर कमाइरहेका थिए। नजिकै रहेका सासू ससुरासँग भने सम्पत्तिको विषयमा सामान्य मनमुटाव भएको देखिएको छ।

अनिता आफ्नी छोरी सहित घरमा बस्दै आएकी थिइन्। उनका श्रीमान् भने वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा। सासु, ससुरा, देवर छुट्टै घरमा बस्दै आएका। तर यही कारणले मृत्युसम्म पुग्नु पर्ने अवस्था आयो होला र?

उस्तै घटनाका श्रृङ्खला

१० दिन अघिमात्र ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा घरभित्रै एक दम्पती मृत अवस्था फेला परेका थिए। राजविराज घर भएका र लामो समयदेखि ललितपुरमा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल मृत अवस्थामा भेटिएका थिए।

घटनास्थलबाट प्रहरीले सल्फर नामको विषादीको फेला पारेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले विष सेवनबाट आत्महत्या गरेको देखाएको छ। घरमा बुबा आमा नभएको समयमा उनीहरूले पनि भित्रबाट कोठा लगाएर बिष सेवन गरेको देखिएको छ।

तर, अहिलेसम्म उनीहरूले विष सेवन गर्नुको कारण भने खुलेको छैन। कानुनले आत्महत्या गर्न दुरुत्साहित गर्नेलाई पनि कानुनी कारबाहीको भागिदार बनाउँछ। तर मृत्युपछि कारण नखुल्दा र आत्महत्या भन्ने थाहा पाएपछि प्रहरीले अनुसन्धान हत्याका घटनामा झैँ चासो नदिँदा मृतकसँगै विलीन भएर गएका छन्। तर पछिल्लो समय देशमा आत्महत्या गर्नेको सङ्ख्या भने बढेर गएको छ।

पछिल्लो समय आफू मात्र होइन आफ्ना परिवारलाई पनिसँगै आत्महत्या तथा हत्या गर्ने गरेको घटना दोहोरिरहेको छ। उनीहरूले बिष सेवन गरेर आत्महत्या गरेको देखिएको छ। चाल आर्थिक वर्षमा ३ हजार ४ सय ६५ वटा आत्महत्याका मुद्दा प्रहरीमा दर्ता भएका छन्। जसमध्ये ६ सय ७१ वटा बिष सेवनबाट भएका छन्। सबैभन्दा धेरै आत्महत्या झुन्डिएर हुने गरेको छ।

यस अघि गत भदौ २६ गते भक्तपुर मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरा भन्ने ठाउँमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला परेको थियो। । घरमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीय पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा मृत अवस्थामा फेला परेका थिए। प्रहरीले अनुसन्धान गर्दै जाँदा सुदीपले श्रीमती र छोराको हत्या गरेपछि आफूले विष सेवन गरेर आत्महत्या गरेको निष्कर्ष निकालेको थियो।

मामाघरमा रहेका छोरालाई घरमा ल्याएर हत्या गरेका थिए। त्यसपछि आफूले विष सेवन गरेर आत्महत्या गरेका थिए। छोराको प्रिय रहेको कुकुरलाई समेत हत्या गरेका थिए सुदीपले। घटनास्थलबाट प्रहरीले विषको बट्टा समेत फेला पारेको थियो। आत्महत्याको कारण डिप्रेसन र आर्थिक पाटो भएको प्रहरीको अनुसन्धानले देखाएको छ। तर ठ्याक्कै यही भन्न सकिने अवस्था छैन।

पछिल्लो समय हत्या त्यसपछि आत्महत्या गर्ने गरेको घटना दोहोरिएका छन्। पुसको अन्तिम साता टोखास्थित ग्राण्डी भिलामा उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका थिए। उमेश कोठाको बेडमा लडिरहेको र श्रीमती पासोमा झुन्डिएको अवस्थामा फेला परेको थियो। यो घटनामा पनि श्रीमान् र श्रीमतीको मृत्युको समय १० घण्टा फरक रहेको छ। पोस्टमार्टम रिपोर्टमा श्रीमानको मृत्यु टाउकोमा लागेको चोटको कारण र श्रीमती झुन्डिएर देखिएको छ।

अमेरिका जानु एक साता अघिको विभत्स मृत्यु : श्रीमानको हत्यापछि श्रीमतीको आत्महत्या पुष्टि
प्रहरीको अनुसन्धानले श्रीमतीले पहिले श्रीमानको हत्या गरेको र त्यसपछि झुन्डिएर आत्महत्या गरेको देखिएको छ। तर हत्या त्यसपछिको आत्महत्याको कारण भने खुलेको छैन।

प्रतिक्रिया