बझाङमा युवाको हत्या विरोधमा सदरमुकाम बन्द, सवारी साधन ठप्प


बझाङ – बझाङमा मंगलबार बेलुका खुडा प्रहारी गरी एक युवाको हत्या भएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का २७ बर्षीय अमृत सिंहको खुडा प्रहारबाट मृत्यु भएको हो ।

छविसपाथिभेरा गाउँपालिका वडा नम्बर २ का प्रकाश ऐडीले खुडा प्रहार गरी सिंहको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङका कार्यालय प्रमुख पहरी नायब उपरिक्षक रुपक खड्काले जानकारी दिए ।

हत्यामा संग्लग्न भएको आरोपमा फरार भएका प्रकास ऐडीलाई थलारा गाउँपालिकाबाट खाना खाँदै गरेको अवस्थामा बुधबार बिहान पक्राउ गर्न सफल भएको डिएसपी खड्काले बताए । खड्काका अनुसार हत्याकमा संग्लग्न अर्का आरोपी ज्ञान बहादुर कडायत भने मंगलबार नै पक्राउ गरेको उनको भनाई छ ।

सोही घटनालाई लिएर नेपाल विद्यार्थी संघले सदरमुकाम चैनपुर बजार र लामो तथा छोटो दुरीमा चल्ने सम्पुर्ण सवारी साधनहरु बिहानदेखि नै बन्द गरेको छ । ‘हत्यारालाई फाँसी दे, हत्याराका योजनाकारलाई कार्वाही गर, निष्पक्ष छानविन गर’ जस्ता नारा लगाउँदै बजार परिक्रम गरेको थियो ।

छविसपाथिभेरा गाउँपालिकामा रहेको बान्नीचौर माविको विद्यालय व्यवस्थापन समिति गठन भएको विषयमा रहेर उक्त घटना घटेको हुन सक्ने प्रहरीले आशंका गरीएको छ । विद्यालय व्यवस्थापन समिति गठन गर्दा सहमती हुन नसकेपछि नेकपा र नेपाली काँग्रेसप्रति आस्था राख्ने व्यक्तिहरुबीच चुनाब भएको स्थानीयले बताएका छन् ।

चुनाब सम्पन्न पश्चात नै उक्त घटना घटेको हो । डिएसपी खड्काका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतक सिंहको शव जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि रााखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया