मलेसियाका राजा अब्दुल्लाहसमक्ष राजदूत पौडेलद्वारा ओहोदाको प्रमाणपत्र पेस


काठमाडौं – मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाह समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बिहीबार क्वालालम्पुरस्थित राजदरबारमा आयोजित विशेष समारोहमा राजा सुल्तान अब्दुल्लाह समक्ष राजदूत पौडेलले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

कार्यक्रममा राजा सुल्तान अब्दुल्लाहले मलेसियाका लागि राजदूत नियुक्त भएकोमा पौडेललाई बधाई दिएका थिए । ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजा सुल्तान अब्दुल्लाहसँग पौडेलले नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी गरेका थिए ।

सो अवसरमा द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको थियो । राजदूत पौडेलले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउन आफु लागिपर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा राजदूत पौडेलले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामना सन्देश व्यक्त गरे ।

राजदूत पौडेलले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति भण्डारीको तर्फबाट नेपाल भ्रमणको निमन्त्रणा गरे । राजा सुल्तान अब्दुल्लाहले विश्वको सर्वोच्च शिखर सगरमाथा अवलोकनका लागि नेपाल भ्रमण गर्ने आफ्नो इच्छा रहेको बताए । सो अवसरमा मलेलिया र नेपालमा हालै भएको आम निर्वाचनबारे समेत कुराकानी भएको नेपाली दूतावासले जनाएको छ।

प्रतिक्रिया