

निःशुल्क शिविरबाट २४१ जना लाभान्वित

सिरहा – स्वास्थ्यचौकी गोलबजारमा आयोजना गरिएको आँखा र कानको निःशुल्क स्वास्थ्य शिविरमा २४१ जनाले जाँच गराएका छन् ।
स्वास्थ्य मन्त्रालयको सहयोगमा सगरमाथा चौधरी आँखा अस्पताल र स्वास्थ्यचौकीद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४१ जनाको उपचार गरिएको स्वास्थ्यचौकी गोलबजारका प्रमुख सत्यनारायण यादवले जानकारी दिए।
कानको ४७ र आँखाका १९४ बिरामीको उपचार गरिएको प्रमुख यादवले बताए । सो क्रममा ७३ जनामा मोतियाविन्दु देखिएकालाई लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाका लागि पठाइएको जनाएको छ ।
तीन हजार ९३० लाई कोरोना खोप
पहिलो चरणमा सिरहाका तीन हजार ९३० जनालाई कोरोना भाइरसविरुद्ध खोप लगाइने भएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलका अनुसार पहिलो चरणमा कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा रहेर कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाइकर्मी, कारागारका कैदीबन्दी, एम्बुलेन्स चालक र शववाहनका चालकलाई खोप लगाइने छ ।
कोरोनाविरुद्धको खोप विभागबाट आइसकेको र जिल्ला अस्पतालमा भण्डारण गरी राखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । सिरहा अस्पतालको हाताभित्र तीनवटा बुथ स्थापना गरी आज बिहान ११ बजेबाट खोप लगाउन शुरु गरिने उनको भनाइ छ ।

