
भारतबाट अवैध रूपमा भित्रिएको २० क्विन्टल माछा चितवनमा नष्ट
चितवन – अवैध रूपमा भारतबाट ल्याएको २० क्विन्टल माछा सोमबार चितवनमा प्रशासनले नष्ट गरेको छ।
नवलपरासी त्रिवेणीनजिक प्रतापपुरबाट काठमाडौं लैजान लागेको पंगास माछा चितवनका मत्स्य व्यवसायी संघ र सशस्त्र प्रहरी बल १७ नम्बर गण नारायणगढ आँपटारीको टोलीले नियन्त्रणमा लिएको थियो ।
भारतबाट अवैध रूपमा माछा आएर जिल्लाको माछा बिक्री नभएपछि व्यवसायीहरूले चितवनमा अनुगमन सुरू गरेका छन् । भ्यानमा पंगास माछाका ५० कार्टुन रहेको, कार्टुनमै भारतीय माछा उल्लेख भएको, भन्सार गरेको कुनै कागज नभएको र सडेर गन्ध पनि आएका कारण माछा नियन्त्रणमा लिएर नष्ट गरेको चितवन मत्स्य व्यवसायी संघका अध्यक्ष खगेन्द्र सुवेदीले बताए ।
नष्ट गरेको माछा करिब चार लाख रूपैयाँ बराबरको रहेको सुवेदीले जानकारी दिए । असारमा तयार भएका माछासमेत बिक्री हुन नसकेर पोखरीमै रहेकाले चितवनका माछा किसानले भारतीय माछाको आयात रोक्न माग गर्दै आएका छन् । अवैध रूपमा माछा आउँदा किसानलाई मर्का परेको, उपभोक्ताले अस्वस्थ्यकर माछा खानु परेको र भन्सार राजश्व पनि गुमेको सुवेदीले बताए ।



कागजपत्र |
