दुर्गा प्रसाईको अस्पताल कै धनीपुर्जा किर्ते रहेको खुलासा


झापा – व्यवसायी दुर्गा प्रसाईले अस्पतालको नाममा रहेको जग्गाधनी धनीपुर्जा किर्ते गरेको खुलासा भएको छ । झापाको बिर्तामोडमा संचालित बिएण्डसी अस्पतालले मेडिकल कलेज खोल्ने प्रयोजनका निम्ति विभिन्न सरकारी निकायमा पेश गरेको जग्गाधनी धनीपुर्जा नै किर्ते गरेको पाईएको हो ।

प्रसाईले सरकारी मापदण्ड पुरा गर्ने नाममा हुँदै नभएको जग्गाको धनीपुर्जा आफैँ बनाएर विभिन्न मन्त्रालय र विभागमा पेश गरेका हुन । प्रसाईले अस्पताललको नाममा खरिद गरेको साबिकको धाईजन गाविस वडा नम्बर ४ मा रहेको कित्ता नम्बर ७०६ को जग्गाधनी धनीपुर्जा किर्ते गरेर सम्बन्धित सरकारी निकायहरुमा पेश गरेका हुन ।

उनले कित्ता नम्बर ७०६ को पाँच बिगाहा आठ कठ्ठा १३ धुर जग्गाको क्षेत्रफललाई १० बिगाहा १२ कठ्ठा १३ धुर बनाएर सरकारी निकायमा पेश गर्दै अस्पताल खोल्ने स्विकृति लिएको खुलेको हो । सक्कली जग्गाधानी धनीपुर्जालाई कम्प्युटर प्रबिधिको प्रयोग गरी ५ बिगाहाको स्थानमा १० र ८ कठ्ठाको स्थानमा १२ कठ्ठा बनाईएको हो ।

जिल्ला मालपोत कार्यालयको श्रेस्तामा समेत उक्त जमिन पाँच बिगाहा आठ कठ्ठा १३ धुर मात्रै रहेको देखिएको छ । मालपोत झापाले समेत उक्त जमिन ५ बिगाहा ८ कठ्ठा १३ धुर मात्रै रहेको जानकारी दिएको छ । किर्ते गरिएको कागजात स्वास्थ्य मंत्रालय, शिक्षा मंत्रालय, चिकित्सा शिक्षा आयोग र काठमाडाैं विश्वविद्यालय बुझाईएको छ ।

प्रसाईको अस्पतालसँग तत्काल करिब १२ बिगाहा मात्रै जग्गा रहेको तर ३ सय शैयाको अस्पताल खोल्न लगभग १६ बिगाहा भन्दा बढी जमिन चाहिने भएपछि धनिपुर्जा नै किर्ते गरी क्षेत्रफल बढाइएको अस्पताल स्रोतको दाबी छ । सोही किर्ते धनीपुर्जाका आधारमा सम्बन्धित निकायले प्रसाईलाई मेडिकल कलेज खोल्ने अनुमती दिएपछि प्रसाईले सरकारलाई नै गुमराहमा राखेको पुष्टि भएको छ ।

यता, प्रसाईले अस्पतालको नाममा खरिद गरेको जमिन ५ बिगाहा ८ कठ्ठा १३ धुर मात्रै रहेको जग्गा बिक्रिीकर्ताहरुले जानकारी दिएका छन् । स्थानीय देवेन्द्र फागो र बुद्धमाया फागोको नाममा रहेको जमिन प्रसाईले २०६८ सालमा खरिद गरेको जग्गा कारोबारमा सहजिकरण गरेका प्रेम नेम्बाङले बताए । प्रसाईले ०६८ सालमै जग्गा खरिद गरेको भएपनि ०७१ सालमा धनीपुर्जा किर्ते गरेको प्राप्त कागजातले पुष्टि गरेको छ ।

यस्तै सरकारी निकाय मात्रै होइन देशका ठूला-ठुला बैङ्क समेत प्रसाईको किर्ते प्रकरणको जालोमा फसेको पाइएको छ । उनले सोही धनीपुर्जाको आधारमा स्वीकृति भएको बिएण्डसी अस्पताल र त्यही जमिन समेत धितो राखी बैङ्कबाट करिब ५ अर्व रुपँया ऋण लिएका छन् ।यता, प्रसाईले प्राविधिक कारणले त्रुटी भएको दाबी गरेका छन ।

प्रतिक्रिया