

तनहुँमा निर्वाचनमा अवरोध गर्न खोज्ने समुह प्रहरी नियन्त्रणमा

तनहुँ – निर्वाचनको मिति नजिकिदै गर्दा विभिन्न गिरोहहरु सल्बलाउन थालेका छन् । निर्वाचन बिथोल्ने गरी मतदाताहरुमा त्रास फैलाउने र विभिन्न भ्रम छर्ने उद्देश्यसहितका समुह सक्रिय हुन थालेको पाइएको हो।
गत कार्तिक १३ गते तनहुँको बन्दिपुर गाउँपालिका १ बाट निर्वाचन बिल्ने गरी योजना बनाइरहेको अबस्थामा प्रहरीले पाँचजनाको समूहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अमृत सापकोटा (गौरव), भवनबहादुर उपरकोटी (सागर), गमबहादुर पौडेल, विजयराज पौडेल र उपबहादुर थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको साथबाट साढे दुई किलो बारुद्ध र निर्वाचन विरुद्धका पर्चाहरु बरामद गरिएको छ । पर्चामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको प्रहरीले जनाएको छ । फेला परेका पर्चामा निर्वाचन बहिष्कार गरौं, बक्स बमहरु राखौं, उम्मेदवारलाई गाउँ छिर्न नदिउलगायतका निर्वाचन विरुद्धका नाराहरु उल्लेख गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका गौरव पार्टीको गण्डकी प्रदेश संयोजक र सागर प्रदेश ब्युरो इन्चार्ज रहेको खुलेको छ ।

