असीम सागरको कविताकृति ‘क’ सार्वजनिक


काठमाडौं कवि असीम सागरको कविताकृति सार्वजनिक भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड१९ को बढ्दो संक्रमणका कारण औपचारिक कार्यक्रमबिनै पुस्तक आइतबार बजारमा ल्याइएको हो । असीम सागर साधारण नेपाली जनताका कवि रहेको पत्रकार एवम् कवि रूपेश श्रेष्ठले बताए । उनका कविताले सडकका नागरिकको कथा भन्ने उनको भनाइ छ । देखेर र भोगेर कविता लेख्नुमा ठूलो अन्तर हुन्छ । असीम सागरको कवितासंग्रह मा भोगेर लेखेका कविता छन्,’ उनले भने, ‘सरल भाषामा यति ओजपूर्ण कविता लेख्न सकिन्छ, त्यो पनि सुन्दर कविता लेख्न सकिन्छ भन्ने उनले प्रमाणित गरेका छन् ।

पछिल्लो समय आइरहेका कवितासङ्ग्रहमा फरक किसिमको लागेको फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए । सरल एवम् सरस किसिमका कविता लेख्ने सागरको यो कृतिमा सामान्यभन्दा सामान्य जनका दुःख, पीडा अनि समाजमा व्याप्त बेथिति एवं विसंगतिलाई घतलाग्दो किसिमले प्रस्तुत गरिएको उनको भनाइ छ । यति ओजपूर्ण कृति प्रकाशन गर्न पाउनु आफूहरुका लागि खुसीको विषय रहेको उनले बताए । 

जीवनमा आइपरेका घटना र विभिन्न अनुभवबाट निःसृत भावलाई नै कविताका रुपमा प्रस्तुत गरेको र यो पुस्तक जन्मिएको लेखक असीम सागरले बताए । उनले भने, ‘जीवन बाँच्दै जाँदा कैयौं पटक चोइटिएको छु । भाँच्चिएको छु । दुखेको छु, उनले भने, ‘तिनै दुखाइ र असन्तुष्टि नै मेरा कविताका अंश हुन् । जसलाई मैले आफ्नै आँसुको मसीले लेखेको छु । यसरी आफू जस्तै दुखेका हजारौं मानिसका साझा सन्तुष्टि र दुखाइ नै यो कविताकृति रहेको उनले बताए । यही माथि सत्ताको आँखा र ध्यान जाओस्, बस्, मलाई यत्ति भए पुग्छ, उनले भने । 

कविहरु प्रायः कविता मसीले लेख्ने गर्छन् । तर असीम सागर आफ्ना कविता पसिनाले लेख्छन् । तपतप खसेका आँसुका डोब र कसैले बोलिदिए हुन्थ्यो भनेर बोल्न नसकिएका आवाज उनी कवितामा उतार्ने कोसिस गर्छन् । उनका कविता आग्रह गर्छन्मजदुरहरुले मुठ्ठी उठाऊन् । अँध्यारोमा बसेकाहरुले उज्यालो खोजून् । सपना नदेखेकाहरुले सपना देखून् । र लागून्, सपना र उज्यालो प्राप्तिको यात्रामा । झेन कविता झैं लाग्ने उनका रचनामा आम मान्छेका भोगाइ, जीवन, मृत्यु र प्रेमका चित्र भेटिन्छन् ।

आम मानिसका भोगाइ एवम् जीवनबारे कविता लेख्न रूचाउने कवि असीम सागर नेपाली कविताको क्षेत्रमा परिचित नाउँ हो । जून पोखिएको रात र अस्तित्वका आवाजहरु (गजलसङ्ग्रह) प्रकाशन गरिसकेका उनले खडानन्द मनमाया स्मृति पुरस्कार, जोगमाया चापागाईं गजल पुरस्कार, भावतरङ्ग साहित्य सम्मान (सिक्किम), बसिबियाँलो साहित्य सम्मान (कालेबुङ) जस्ता पुरस्कार एवम् सम्मान पाएका छन् । उनी राष्ट्रिय कविता प्रतियोगिताका विजेतासमेत हुन् । 

प्रतिक्रिया