

चरित्र हत्या गरेको आरोपमा सप्तरीका युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको अभियोगमा सप्तरी सुरूङ्गा नगरपालिका-१ बस्ने १९ वर्षीय सुमितकुमार थापा पक्राउ परेका छन् ।
उनले फेसबुकको नक्कली आइडीबाट पीडितको तस्वीरमा अपरिचित महिलाको अश्लील तस्वीर राख्दै उनका बारेमा अनर्गल, अश्लील शब्दहरू लेखी पोष्ट गर्ने गरेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
फेसबुकमा समिरा शर्मा (बेबी) नामको झुटो आइडीको मेसेन्जरबाट पीडितका आफन्तहरूले प्रयोग गर्ने फेसबुकमा समेत पीडितका बारेमा अनेकौं अश्लील म्यासेजहरू गरी बदनाम, बेइज्जत गरी अनावश्यक मानसिक तनाव, दुःख‚ हैरानी दिई चरित्र हत्या गरेका थिए ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा इलाका प्रहरी कार्यालय भेडिया सप्तरीको सहयोगमा पक्राउ गरिएको ब्युरोका भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए । शुक्रबार पक्राउ परेका उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

